थप समाचारशुक्रबार, १३ बैशाख , २०७६

'श्रीलंका विष्फोटका नाइके हासिम मारिए'

हिमालखबर

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले इष्टर सण्डे पर्व आक्रमणका मुख्य व्यक्ति मारिएको बताएका छन् ।

जहरान हसिम । तस्वीरः द लिर्डस अनलाइन

सिरिसेनाले जहारान हासिम नाम गरेका ति व्यक्ति कोलम्बोस्थित होटल सांग्रिलामा विष्फोटका क्रममा मारिएको दाबी गरेका छन् ।

उनले इस्लामिक अतिवादी समूह इस्लामिक स्टेट (आईएस)सँग सम्बन्ध राखेका आफ्ना देशका १४० नागरिकको पहिचान गरिएको पनि बताएका छन्।
श्रीलंका प्रहरीका अनुसार हासिम स्थानीय इस्लामिक उग्रवादी समूह न्याशनल तौहीद जमातका नेता हुन् । आक्रमणमा हासिमले इल्हाम भनिने आत्मघाती आक्रमणकारीलाई सहयोग गरेको बताइएको छ ।

आइतबार २५३ जनाको ज्यान जाने गरि कोलम्बोका चर्च र होटलमा गरिएका आक्रमणपछि सार्वजनिक फूटेजमा सदिग्ध आठ आक्रमणकारीमध्ये हासिमले मात्र अनुहार देखाएको थियो ।

सरकारले आक्रमणमा मृत्यु हुनेको संख्या झण्डै एक सयले कम भएको जनाएको छ । यसअघि प्रहरीले ३५९ जनाको मृत्यु भएको सूचना दिएको थियो ।

उग्रवादी समूह न्याशनल तौहीद केही वर्ष अघि मात्र अस्तित्वमा आएको थियो । बुद्धका मूर्ति भत्काउने कार्यमा संलग्न यो समूहका नेतामध्येका एक हासिमले युट्युबमार्फत गैर मुस्लिम समुदायलाई गाली गरिरहेको भिडियो बारम्बार पोष्ट गरेको भेटिएको छ ।

प्रहरीले तौहीदका दोस्रो तहका नेतालाई पक्राउ गरेको जनाएको छ ।

आक्रमणकारी समूहले इस्लामिक स्टेटका ‘आर्मी मोहिद्दीन’ भन्ने व्यक्तिले श्रीलंका बाहिर र पूर्वी प्रान्तमा तालिम दिएको पाइएको पनि प्रहरीले जानकारी दिएको छ । –एजेन्सी

 

प्रतिकृया दिनुहोस