आगलागीबाट बच्न फायर एक्सटिंग्विशर
व्यावसायिक भवन होउन् वा आवासीय आगलागीबाट जोगिनका लागि फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) राख्नु जरुरी जस्तै भएको छ ।
अस्पताल, ब्याङ्क, व्यापारिक भवन, विमानस्थल, होटल, कारखाना, पेट्रोलपम्प जस्ता ठाउँमा विभिन्न आकारका साना सिलिण्डर सहितका फायर एक्सटिंग्विशर राखिएको हामीले देखेकै छौं तर, पछिल्लो समय आवासीय भवनहरूमा समेत यस्तो यन्त्रको प्रयोग शुरु भएको छ ।
यद्यपि, जुन लगानी र आकारका निजी आवासीय भवनहरू निर्माण भइरहेका छन् त्यस अनुपातमा फायर एक्सटिंग्विशरको प्रयोग निकै कम भइरहेको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् ।
सरकारले जारी गरेको भवन आचारसंहितामा सार्वजनिक भवनहरूमा यस्तो यन्त्र राख्न अनिवार्य गरेको भए पनि निजी आवासीय भवनका लागि अनिवार्य गरेको छैन । तर, लाखौं–करोडौं खर्चेर बनाइने भवनमा केही हजार मूल्यको अग्निशमन यन्त्र नराख्दा ठूलो क्षतिको जोखिम रहिरहन्छ ।
नेपाली बजारमा करीब पाँच दशकदेखि यस्तो यन्त्र बेचिरहेका काठमाडौंस्थित हिट्को प्रालिका प्रबन्धक प्रदीपमान श्रेष्ठ उपभोक्ताहरूमा चेतनाको कमीका कारण निजी घरहरूमा यो उपकरणको प्रयोग निकै कम भएको बताउँछन् । । “बाक्लो बस्ती भएका शहरका घरहरूमा त यो झन् जरुरी सुरक्षा उपाय हो”, उनी भन्छन् ।
बिक्रेताहरूका अनुसार आगलागीका ठूला घटना भएका बेला भने फायर एक्सटिंग्विशरबारे जानकारी लिन आउनेको संख्या बढ्ने गरेको छ । मोनो एमोनिया फस्फेट पाउडर, कार्बनडाइअक्साइड ग्यास र नाइट्रोजन ग्यास भरिएका यी सिलिण्डरको ढकनमा रहेको सिल तोडेर ह्याण्डल थिच्दा निक्लने उक्त मिश्रणले आगो निभाउँछ ।
यो सिलिण्डरभित्र भएको ग्यास र पाउडर सामान्यतया पाँच वर्षसम्म प्रयोग गर्न सकिन्छ । सिलिण्डरको माथिल्लो भागमा हुने घडी आकारको उपकरणको सुई रातोमा पुगेको छ भने त्यसलाई प्रयोग गर्न सकिन्न । यसो भएमा तुरुन्तै ग्यास र पाउडर फेर्नुपर्ने हुन्छ ।
आपत्कालमा उपयोग गरिने निकै संवेदनशील यन्त्र भएका कारण यसलाई प्यासेज वा सिंढीको भित्तामा तुरुन्तै भेट्न सकिने ठाउँमा राख्नुपर्छ । आगो निभाउने बेलामा यसको प्रयोग गर्दा हावाको बहावलाई समेत ख्याल गर्दै आगोको विपरीत दिशाबाट यसको ह्याण्डल थिच्नुपर्दछ । ह्याण्डल थिच्दा निस्कने ग्यासले आगो निभाउँछ ।
नेपालको बजारमा १ केजीदेखि ९ केजीसम्मका फायर एक्सटिंग्विशर सिलिण्डर पाइन्छन् । अक्सर घरहरूमा २ केजीसम्म तौलका सिलिण्डर राखिएको पाइन्छ । भारत र मलेशियाबाट आयात हुने यस्तो एउटा सिलिण्डरको बजार मूल्य रु.२ हजारदेखि २५०० सम्म पर्छ ।
आपत्कालीन अवस्थामा प्रयोगमा आउने यो यन्त्र ठूलो आगलागीका बेला भने काम आउँदैन । त्यस्तो अवस्थामा फायर ब्रिगेड र सुरक्षा निकायमा तुरुन्त खबर गरिहाल्नुपर्छ ।