कला/साहित्यशुक्रबार, १३ बैशाख , २०७६

यथार्थको जीवन्त ऐना

शेखर खरेल

पत्रकारिता, कविता र आख्यानमा सराबरी कलम चलाउने राजेन्द्र पराजुलीको पछिल्लो कथासंग्रह ‘अघोरी’ वितेको वर्षको सुस्वादु पठन रह्यो । पराजुली आफ्ना सत्र कथा मार्फत दमदार देखिएका छन् ।

‘अघोरी’ वस्तुतः चरित्र चित्रणको सँगालो हो । कथाकार आफ्ना वरपरका मानिसलाई कथाको पात्र बनाउँछन् र उनीहरूको चरित्रको ‘एक्स–रे’ खिच्दछन् । मानिसको स्वभाव प्राकृतिक रूपमै विरोधाभासपूर्ण हुने भएकाले कथाकार सतहमा देखिने कुराको चित्रण गर्ने भन्दा अन्तरकुन्तर केलाउने प्रयत्नमा देखिन्छन् ।

पराजुली यथार्थवादी धारका आख्यानकार हुन्, यसैले उनले बुनेका कथानक, पात्र र तिनका प्रवृत्ति यथार्थपरक छन् । कथानकमा उनले कल्पनाको उडान त भरेका छन्, त्यो स्वैरकाल्पनिक भने छैन । संग्रहका कथा एक पछि अर्को छिचोल्दै जाँदा पाठक आफ्नै वरपरको परिवेशसँग साक्षात्कार गर्दै जान्छ ।

‘अघोरी’ का पात्रहरूको प्रवृत्ति केलाउँदा यसका कथाकार पराजुलीको ‘सिग्नेचर’ अर्थात् लेखकीय प्रवृत्तिबारे पनि चर्चा गर्नु सान्दर्भिक हुनेछ । कथालेखनको एउटा चल्तीको प्रवृत्ति ‘ट्विस्ट’ अर्थात् चामत्कारिक उलटफेर पराजुलीका कथामा विरलै पाइन्छ । बरु उनको रुचि ती पात्रहरूका आनीबानी, उनीहरूका द्विविधा र असंगत जीवनदृष्टिप्रति ज्यादा देखिन्छ ।

ती पात्रहरूमाथिको आफ्ना सघन पर्यवेक्षणको जगमा उनी कथानक बुन्छन् । त्यसैले कथामा कस्तो ‘ट्विस्ट’ आउँछ भन्ने भन्दा पनि उनी कति गहिराइसम्म पुगेर ती पात्रको प्रवृत्ति उजागर गर्न सक्छन्, त्यो महत्वपूर्ण हुन्छ । संग्रहका केही कथाबाटै यसबारे विवेचना गरौं ।

शीर्ष कथा ‘अघोरी’ को अघोरी अडबाङ्गे पात्र हो । खास नाम भरतकुमार ज्ञवाली भए पनि अनौठा र बेतुक हर्कतका कारण उसलाई अघोरी भनिएको हो । मनमौजी र आवेगी ऊ न कसैलाई गन्छ, न त आफूलाई नियमको परिधिभित्र राख्छ ।

अरू त अरू, आफ्नी पत्नीलाई पनि साथीभाइकै सम्मुख भनिदिन्छ, “तिमी तरुनी छ्यौ, राम्री पनि छ्यौ । मसँगको सम्भोग मन पर्दैन भने कोही अरूसँग पनि गराउन सक्छ्यौ । म मन पर्दैन भने जान सक्छ्यौ कोहीसँग पनि ।”

‘बासी मान्छे’ कथाकी मूल पात्र शिष्टता अघोरीको नारी रूप जस्तै लाग्छ, जसलाई एक मात्र पुरुषसँगको सम्बन्धमा विश्वास छैन । ऊ पुरुषले महिला छाड्ने प्रवृत्तिलाई नितान्त बासी ठान्छे र महिलाको हिम्मत बढाउन अब त्यो कर्म महिलाबाट हुनुपर्ने विचार राख्दछे । महिलाले प्रेमको वास्तविक आनन्द बहुप्रेमबाट लिन सक्ने विचारधाराकी पक्षधर हो, शिष्टता ।

संग्रहका बाँकी पन्ध्र कथाबाट पाठकले भिन्नभिन्न स्वाद लिन सक्छन् । उदाहरणका लागि, ‘न्यानो’ कथाका मूलपात्र मननारायण कुशवाह क्रान्तिकारी पृष्ठभूमिको राजनीतिकर्मी हो, जो मन्त्री पदमा भन्दा आफ्ना ग्राम्यजीवनको बाल्यकालको ‘नोस्टाल्जिया’ मा रमाउँछ ।

यस कथामा पात्रको गठन जति शक्तिशाली छ, त्यति नै तारिफयोग्य कथानकको बिम्वात्मक बुनोट देखिन्छ । मन्त्री क्वाटरको बाथरूमको तातोपानी भन्दा आफ्नै पिसाबको न्यानोपना खुट्टामा सिंचित गर्दै देहातको बुहारी गाउँको बाल्यकालको प्रेमिल स्मृतिमा रमाउन चाहने मननारायणको पात्रता अत्यन्त कौतूकमय छ ।

उता ‘पारू दिदी’ को भावभूमि किशोर यौन मनोविज्ञान भए पनि मूल पात्र पार्वती बस्नेत उर्फ पारु दी, उर्फ पार्दीको इच्छाबेगरको विवाह र क्यान्सर रोगका कारण कथा मर्मस्पर्शी मोडमा टुङ्गिन्छ । संग्रहको छुटाउन नहुने अर्को कथा हो, ‘एकान्तवास’ । निष्ठा र संघर्षको राजनीति गर्नेहरू संसदीय अभ्यासमा कसरी पछि पर्छन् भन्ने कुराको दृष्टान्त कथाकारले इरोम नाम गरेकी पात्र मार्फत प्रस्तुत गरेका छन् ।

वास्तवमा इरोम अरू कोही नभएर भारतको मणिपुरमा सैनिक ज्यादती विरुद्ध तरल पदार्थ मात्र खाएर सोह्र वर्ष भन्दा बढी अनशन बस्ने इरोम शर्मिला नै हुन् । विडम्बना चाहिं, तिनै इरोमले सन् २०१७ को मणिपुर विधानसभा निर्वाचनमा केवल ९० भोट पाएर पराजय भोगिन् । यता ‘एकान्तवास’ की इरोम पनि चुनावमा पराजयपछि राजनीतिलाई तिलाञ्जली दिंदै आनी बन्छिन् ।

संग्रहका ‘रातो छाता’, ‘गुमदेश’, ‘दुर्गा मिसको साइकल’ जस्ता कथाहरूको भावभूमि राजनीति हो भने ‘केमेष्ट्री’, ‘लाफिङ क्लास’, ‘अकल्पनीय’ जस्ता कथाहरूले प्रेम, सम्बन्ध र समाजको मनोविज्ञानका अनेकौं आयाम उधिनेका छन् ।

पेशाले पत्रकार पराजुलीले कथानकमा समाज अध्ययनका निम्ति राजनीतिक घटनाक्रम र उतारचढावलाई आफ्ना विषय रोजेका देखिन्छन् । चार दशक यताको प्रमुख राजनीतिक घटनाक्रम, जस्तै जनमतसंग्रह, जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनलाई कथाहरूमा समेटेका उनी ‘पोलिटिकल न्यारेटिभ’ (राजनीतिक वृत्तान्त) मा समर्थवान देखिन्छन् ।

कथालाई सपाट रुपमा नभई प्रतीक र व्यङ्ग्य मार्फत अभिव्यक्त गर्ने पराजुलीका शैलीका कारण ‘अघोरी’ का कथाहरू पठनीय छन् ।

पुस्तक: अघोरी (सत्र कथा)

विधा: कथा

लेखक: राजेन्द्र पराजुली

प्रकाशक: किताब पब्लिशर्स

पृष्ठ: १६४,

मूल्य: रु.३९०

प्रतिकृया दिनुहोस