पानी खान भारतको ‘निगाह’
- दशरथ घिमिरे
इनारमा पानी नभएपछि कोइलावासवासी पाँच किलोमिटर पर भारतबाट पानी ल्याएर जीविकोपार्जन गरिरहेका छन् ।
दाङ, कोइलावासका जावेद अहमद सिद्दिकीलाई हिजोआज तनाव छ । पानीको अभाव छ । भएका कुवा–इनार सबै सुके । ट्युबवेलबाट पनि पानी आउँदैन ।
“कुवा हुँदाखेरि पानीको व्यवस्था राम्रो थियो तर खोलाबाट जथाभावी गिटी, बालुवा निकालिन थालेपछि गाउँका कुवा इनार सुक्न थाले”, भन्छन् ।
इनारमा पानी नभएपछि अहिले कोइलावासवासी पाँच किलोमिटर पर भारतबाट पानी ल्याएर दैनिक काम चलाइरहेका छन् ।
भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले उनीहरूलाई केही खानेपानी दिन्छ । त्यही पानी फारो गरेर स्थानीयले दैनिकी चलाइरहेका छन् । एक स्थानीय भन्छन्, “चैत, वैशाखमा पानीको निकै अभाव हुने भएकाले एसएसबीसँग समन्वय गरेर खानलाई पानी जुटाइरहेका छौं ।”
पूर्वपश्चिम राजमार्ग बन्नु पहिल्यै दाङको कोइलावास दाङ लगायत माथिल्लो भेगको प्रमुख बजार थियो । त्यही बेलादेखि कोइलाबासको बेग्लै पहिचान थियो । दाङको माथिल्लो भेग तथा अन्य पहाडी गाउँबाट बाउ, बाजे नुन–तेल किन्न आउने बजार थियो कोइलावास । यो यस क्षेत्रको चर्चित नाका थियो ।
भारतको बलरामपुर जिल्लाको जरुवा सिमानामा पर्ने कोइलाबासको जनसंख्या हाल ११ सय ९७ छ । स्थानीय तह पुनर्संरचना हुनुअघिसम्म कोइलाबास एउटा सिंगो गाविस थियो । तर, अहिले यो गढवा गाउँपालिका–८ मा पर्छ ।
गढवा गाउँपालिका–८ कोइलावासमा वर्षौंअघि खनिएका इनारमा पानी सुकेको पनि तीन दशक भइसक्यो । इनारमा पानी सुकेपछि खानेपानीका लागि २०६५ सालमा धारा जडान गरियो ।
स्थानीय बोक्सरे भन्ने ठाउँमा पाँच वर्ष अघिदेखि पानीको मुहान क्रमिक रूपले सुक्दै गयो । त्यसपछि कोइलावासका धारामा पानी आउनै छाड्यो ।
एक सय २० घर धुरी रहेको कोइलावासका जनता अहिले खानेपानीका लागि छिमेकी भारतका पानीका मुहान र सीमा सुरक्षाबलको निगाहमा भर पर्ने गरेका छन् ।
“पानी सुक्यो भने त हामी सबै एसएसबी क्याम्पमा जाने हो । पहिले पहिले त २० रुपैयाँ डिब्बा पानी भराएर गाडीमा ल्याएर आउँथिम् जरुवादेखि । अहिले एसएसबीले दिन्छ । त्यहीँबाट लिएर आउँछम्”, स्थानीय एक महिला भन्छिन् ।
स्थानीय बासिन्दाका अनुसार मनपरि रूपमा ढुंगा, गिटी उठाउन थालेपछि भूमिगत पानी सुक्न थालेको हो । कोइलावास खोलामा पानी बग्दासम्म त्यहाँका इनारमा पनि प्रशस्त पानी आउँथ्यो । यही क्रममा कोइलावास खोलामा बनाइएको बाँध भत्कियो ।
२०६२ देखि २०६६ सालसम्म मनपरी रूपमा ढुंगा उत्खनन् गरेर भारत निकासी गरियो । त्यसपछि खोलाको सतह घट्यो । इनारको गहिराइ भन्दा खोलाको गहिराइ धेरै भएपछि पानीको सतह घट्न पुग्यो । त्यसपछि कोइलावासमा पानीको संकट देखियो ।
स्थानीय ६० वर्षीय सई सिद्दिकीका अनुसार, खोलाको ठेक्कापट्टा लिने बेला इन्डियाका ठेकेदारहरू आएर खोलाका पूरै ढुंगा निकाल्न लगाए । त्यसपछि स्थानीयका घरहरू पनि कटानमा पर्दै गए । पानीका मुहान सुक्दै गए । जमिन सुक्खा हुँदै गयो ।
तर, भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय लमही दाङका प्रमुख खिलानाथ दाहाल कोइलावासमा जमिनमुनिको पानीको सतह घटनुको कारण बारे अध्ययन नै नभएको बताउँछन् । “दाङका अन्यत्र स्थानमा पनि खानेपानीको समस्या छ, यसबारे सबै गम्भीर हुनुपर्छ”, उनी भन्छन् ।
खानेपानीको संकट बढ्दै गएपछि खानेपानी तथा सरसफाइ डिभिजन र भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयको पहलमा कोइलावासका ६ ठाउँमा डिप बोरिङ गरियो । तर, पानी आएन । सातौं पटक एक सय ७५ मीटर गहिरो डिप बोरिङ गर्दा मुस्किलले पानी भेटिएको छ । मुस्किलले भेटिएको पानीलाई ट्यांकी मार्फत स्थानीयलाई वितरण गर्ने तैयारी भइरहेको छ ।
गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी भन्छन्, “पाँच–छ महीना पहिला यहाँ डिप बोरिङ गरेपछि अहिले पुग्नेजति पानी बोरिङमा पाएका छौँ । पानी वितरण प्रभावकारी बनाउन अब छिट्टै नै ट्यांकी बनाउने काम शुरु गर्दैछौं ।”
“धेरै ठाउँमा बाँध बाँधेर पानी जमाउन र जमिनमुनि जाने वातावरण बनाउन सक्यौं भने आकाशे पानी, खोलानालाको पानी जमिनमुनि सजिलै जान सक्छ र पानीको सतह घट्दैन”, जल विज्ञानका ज्ञाता देवकुमार स्याङ्बो भन्छन् ।
“शहरीकरणसँगै बढेका नकुहिने फोहोरले पनि जमिनमुनि पानी सुकाउन भूमिका खेल्न सक्छ”, स्याङ्बो भन्छन्, “अव्यवस्थित तरिकाले ट्युबवेल संरचना निर्माण गर्ने काम बन्द गर्नुपर्छ । पानीको पुनर्भरण गर्ने ठाउँहरू सम्भावित स्रोतहरूको अध्ययन गर्नुपर्छ ।”
आकाशे पानी जमिनमा जम्ने वातावरण बनाएर पनि भूमिगत पानी संरक्षण गर्न सकिने उनको भनाइ छ ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारी मा पनि सुन्न सकिन्छ ।