कमोडिटी एक्सचेञ्ज दुईवटा मात्र, पहिलेका पाँचवटै प्रस्तावमा बोर्डको इन्कार
नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) बजार सञ्चालन गर्न दुई वटामात्रै कम्पनी छनोट गरिने बताएको छ ।
स्वतन्त्र विज्ञ नियुक्त गरिएका नेपाल राष्ट्र ब्याङ्कका पुर्वकार्यकारी निर्देशक वासुदेव अधिकारीको सुझावमा दुई ओटामात्रै कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको बोर्डले स्पष्ट पारेको हो ।
मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरेर दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।
कारोबार इजाजतका लागि बोर्डले नयाँ आवेदन पनि खुला गरिसकेको छ । यस्तो कारोबार गर्न चाहनेहरुले शुरुमा बोर्डबाट पूर्व स्वीकृति लिएरमात्रै कम्पनी दर्ता गर्न पाउँछन् । यसका लागि बोर्डले पुनः आवेदन मागेको छ ।
नयाँ वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनीको प्रस्तावित पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनोट गरिने बोर्डले बताएको छ ।
२०७४ मंसीरमा वस्तु विनिमय बजार सम्बन्धी ऐन कार्यान्वयनमा आए लगत्तै बोर्डले आवेदन मागेको थियो । त्यतिबेला नेपाल कमोडिटी, नेपाल मर्कन्टाइल, कमोडिटी फ्यूचर्स, राइजल कमोडिटी र मल्टिडेरिभेटिभ्स् एक्सचेञ्जले आवेदन दिए पनि करीब डेढ वर्षपछि सबै आवेदन बोर्डले रद्द गरिदिएको छ ।
‘कम्पनीहरुले कानूनअनुसार सम्पूर्ण कागजात तथा विवरणहरु पेश गरेको नदेखिएकाले’ पूर्व स्वीकृतिका लागि पेश गरिएका निवेदन इन्कार गरिएको बोर्डद्वारा जारी वक्तव्यमा उल्लेख छ । इन्कार गरिएका कम्पनीहरुले पनि पुनः आवेदन दिनसक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।