सम्पत्ति शुद्धीकरण गरिएको रु. २३ करोड ९५ लाखका धनीविरुद्ध मुद्दा दायर
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरजग्गा र शेयर बजारमा स्रोत नखुलेको धन लगानी गर्ने एक नेपाली महिला र उनका भारतीय पतिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ ।
विभागले ११ वैशाखमा नेपाली नागरिक मधुकुमारी चौधरी र उनका भारतीय पति विनोदकुमार गुप्ताविरुद्ध रु. २२ करोड ९५ लाख बिगो राखेर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चौधरीको नाममा दर्ता रहेको हिमालयन कार्गोले करीब एक दशक राजस्व चुहावट गरेको तथा उनको पति गुप्ता र भारतीय नागरिक विरेन्द्र महतोको मिलेमतोमा गैरकानुनी रुपमा रु. २३ करोड ९५ लाख ६८ हजार स्रोत नखुल्ने रकम परिचालन गरिएको विभागले भेटेको थियो ।
प्रतिवादीहरुले रु. १० करोड २० हजार विभिन्न व्यक्तिका नाममा खोलिएका ब्याङ्क खातामा लुकाएर राखेको, २०६५ पछि काठमाडौंका विभिन्न क्षेत्रमा रु. ८ करोड ३० लाखको जग्गा खरीद गरेको भेटिएको छ ।
त्यस्तै, चौधरीको नाममा रहेको मंगला रियलस्टेट प्रा.लि.मा रु. २ करोड र एप्पल पोलिमर्स प्रा.लि.मा रु. २ करोड ५० लाख लगानी गरेको पाइएकाे छ ।
चौधरीले विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाको रु. ४ लाख ९७ हजारको शेयरसमेत खरीद गरेको विभागले जनाएको छ । विभागले यि सबै सम्पत्ति जफतको मागदाबी समेत गरेको छ ।