संशोधन विधेयकको सशक्त प्रतिबाद हुन्छः एमाले नेताहरु
एमाले नेताहरुले संसदमा दर्ता भएको संविधान संसोधन विधेयकको सशक्त प्रतिबाद गर्ने बताएका छन् ।
१५ मंसीरमा पार्टी मुख्यालय धुम्बाराहीमा भएको पत्रकारहरुसँगको भेटमा नेताहरुले संविधान संसोधन प्रस्ताव राष्ट्रिय अखण्डता, सार्वभौम जनताको हित विपरित भएकाले संसदभित्र र संसदबाहिरबाट सशक्त प्रतिबाद गरिने बताएका हुन् ।
भेलामा एमाले उपाध्यक्ष भीम रावलले संसोधन प्रस्तावमा राष्ट्रलाई कमजोर बनाउने निहित स्वार्थका साथ ल्याइएको दाबी गर्दै संसोधन प्रस्तावले कानूनी शासनलाई कमजोर बनाउने र राजनीतिक द्वन्द्व निम्ताउने बताए ।
“वेग्लै देशको कुरा गर्ने बाहेक तराईका आम जनताले संविधानको स्वागत गरेका छन्,” रावलले भने, “चुनाव नगर्ने र देशलाई द्वन्द्वमा धकेल्ने स्वार्थले संसोधन ल्याइएको हो ।”
माओवादी केन्द्रको वैठकमा प्रधानमन्त्री पुष्पमकमल दाहालले संविधान संसोधनमा एमालेले समर्थनको संकेत दियो भनेर झ्ुट बोलेको भन्दै उनलाई झुटको खेती नगर्न आग्रह गरे ।
पार्टी सचिव प्रदीप ज्ञवालीले संसदले संघीयताको सीमा चलाउने हो भने, संघीयता खारेज गरे हुने बताए ।
“संसदलाई सीमा फेरवदल गर्ने अधिकार नै छैन, संघीय राज्यका आफ्नै नियम कानून हुन्छन, त्यसको अधिकार संसदले प्रयोग गरे संघीयताको कुनै अर्थ हुन्न,” ज्ञवालीले भने ।
“एमाले आफ्नो अडानबाट पछि हट्दैन, राष्ट्र जोगाउने हाम्रो मुख्य स्थार्थ हो,” ज्ञवालीले थपे “अहिलेको सीमांकनको फेरवदल गर्ने कुरा विसौनी मात्र हो, यसको गन्तव्य र उद्देश्य बहुराष्ट्रीय हो ।”
अर्का सचिव योगेश भट्टराईले पारित नहुने संशोधन प्रस्ताव दर्ता गरेर प्रधानमन्त्री दाहालले देशमा द्वन्द्वको विजारोपण गरेको बताए ।
उक्त कार्यक्रममा उप महासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुवास नेम्वाङ्ग, प्रचार विभाग उप प्रमुख सूर्य थापा लगायतले बोलेका थिए ।