तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः टेण्डर, पुसबाट निर्माण थालिने लक्ष्य
तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आह्वान गरेको छ ।
पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले आज पुनः अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको हो ।
बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ अर्थात् ९ जुन २०१९ तोकिएको छ । मेलम्चीमा काम नगरी हिडेको सीएमसीसँग तनहुँ हाइड्रोपावरले पनि ठेक्का तोडेको थियो ।
निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्नेछ ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास ब्याङ्क (एडीबी) र यूरोपेली लगानी ब्याङ्क (ईआईबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ ।
टेण्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरुले दातृ निकाय एडीबीको खरीद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए ।
२०७६ कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको थिकेले बताए । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो (जुन २०२४) भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले खरीद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि ब्याङ्क ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडेको थियो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम शुरु गरिसकेको छ ।
सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ ।
यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।