व्यक्तित्वबिहिबार, १२ बैशाख , २०७६

सपना पछ्याउँदै

महाभूकम्पको ४ वर्ष

रामु सापकोटा

लिखु गाउँपालिका, ओखलढुङ्गाको सिद्धमनपुर माध्यमिक विद्यालयमा कक्षा २ को परीक्षा दिएर निर्मला परियार (११) विदा मनाउन आमा हुमदेवीसँग १० वैशाख २०७२ मा काठमाडौं आइन् । ठमेलको गार्मेन्ट कारखानामा काम गर्ने बाबुलाई भेटेर र घुमघाम गरेर १३ वैशाखमा ओखलढुङ्गा फर्किने योजना थियो । तर, त्यसको अघिल्लो दिन नमीठो घटना भयो । साथीको घरमा टीभी हेरिरहेका बेला भूकम्प आएपछि उनी बाहिर दौडिन्, सडक छेउको पर्खाल भत्केर उनलाई किच्यो । 

निर्मला परियार । तस्वीरः मोनिका देउपाला

निर्मलालाई घन्टौंपछि एक बटुवाले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई त्यसै दिन महाँकालमा रहेको राष्ट्रिय ट्रमा सेन्टर लगियो । अस्पताल पुर्‍याएको चार दिनपछि निर्मलाको होश आयो ।

होश खुल्दा आफ्नो एउटा खुट्टा नदेखेपछि उनी भक्कानिइन् । उनको दायाँ खुट्टाको तिघ्रासम्म गम्भीर चोट लागेकाले काट्नुपरेको थियो । उनी भन्छिन्, “त्यसबेला खुट्टा भएको भए धेरै खेल्न पाउँथें भन्ने लाग्यो ।”

निर्मलाका बाबु प्रेमबहादुर छोरीको उपचार गर्दा रु.२ लाख ६० हजार खर्च भएको बताउँछन् । उनले उक्त खर्च ओखलढुङ्गाको तीन रोपनी जग्गा बेचेर तिरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्पका गम्भीर घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरे पनि उनको परिवारले अहिलेसम्म सहुलियत रकम पाएको छैन । आमा हुमदेवी भन्छिन्, “हामीलाई छोरी बाँचे हुन्थ्यो भन्ने मात्र ध्याउन्न थियो । बिल बुझाएर रकम लिनतिर लागेनौं ।”

ट्रमा सेन्टरमा साढे चार महीनाको बसाइपछि निर्मला र उनको परिवारलाई एक गैरसरकारी संस्थाले सुन्धाराको होटलमा पाँच महीनासम्म बस्ने र खाने व्यवस्था गरिदियो । त्यसबेला चार महीनासम्म ह्विलचेयरको सहायतामा हिंडडुल गर्न निकै गाह्रो परेको निर्मला बताउँछिन् ।

पछि उनले भृकुटीमण्डपको एक गैरसरकारी संस्था मार्फत कृत्रिम खुट्टा पाइन् । त्यसपछि बल्ल सहज रूपमा हिंड्न सक्ने भइन् । “पहिला हिंड्न एकदमै गाह्रो हुन्थ्यो, अहिले बानी परिसक्यो”, उनी भन्छिन् ।

भूकम्पपछि निर्मला सहित सात जनाको परिवार काठमाडौंको नरेफाँटमा भाडामा बस्दै आएको छ । केही सहयोगीले पठनपाठन र होस्टल बस्ने खर्च बेहोरिदिएपछि उनी अहिले चापागाउँ, ललितपुरको अमरज्योति बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत छिन् । खुट्टा गुमाउनुको पीडा भुल्दै उनी स्कूलमा सजिलो खेल खेल्छिन् ।

उनको सपनाको धुन भने बेग्लै छ । शायद त्यसैले उनलाई हतोत्साही हुन दिंदैन । उनको सपना छ, अभिनेत्री बन्ने । भन्छिन्, “रेखा थापाको अभिनय धेरै मन पर्छ, त्यसैले उहाँ जस्तै बन्ने रहर छ ।” अभिनयसँगै उनको नृत्य सिक्ने चाहना पनि छ । तर पैसा छैन । “हिरोइन बन्न नसके डाक्टर बनेर बिरामीको सेवा गर्ने मन छ”, निर्मला भन्छिन् ।

पढ्नुहाेस्:

खुट्टा गुमेपछि बनेका पौडीवाज

डोब भुलेको पुनर्निर्माण

पुराना सामग्रीबाटै पुनर्निर्माण

भय भुल्दै, लय भुल्दै

पुनर्निर्माणको गल्तीबाट पाठ सिक

प्रतिकृया दिनुहोस