‘खुला मञ्च कहाँ छ खुला ?’
खुलामञ्च अतिक्रमण गरेर व्यावसायिक सटर बनाइएको विरोधमा सर्वसाधारण र संरक्षणकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
बस्नयोग्य काठमाडौं (लिभएबल काठमाडौं) अभियान मार्फत उनीहरूले खुला स्थानको माग गरे ।
‘खुला मञ्च कहाँ छ खुला’, ‘हामी खुला स्थान चाहन्छाैँ’, ‘०७२ को भूकम्प बिर्सियौं होला, खुला स्थानजति माफियाको फेला’ लगायत प्ला कार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका छन् ।
पुरानो बसपार्कमा भ्युटावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्चमा सटर बनाएर भाडामा लगाएको छ ।
पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरेर बिक्री भइरहेको बताइएको छ ।
खुलामञ्चबाट संकलन हुँदै आएको भाडा र कर पनि नगरपालिकालाई नबुझाएको बुझिएको छ ।
पुरानो बसपार्क भएको स्थानमा भ्यूटावर बनाइने भएपछि काठमाडौं महानगरपालिकाले उक्त कम्पनीलाई टावर निर्माण नहुँदासम्म खुलामञ्चको केही भागमा बसपार्क व्यवस्थापन गर्ने जिम्मेवारी दिएको थियो ।
तर, ठेकेदार कम्पनीले खुलामञ्चमा सटर समेत बनाएर महंगो शुल्कमा भाडामा लगाएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले ठूलै शक्तिको आडमा सटरहरू बनेको भन्दै सटरहरू भत्काउने चेतावनी दिएका छन् ।
महानगरका प्रवक्ता ईश्वरमान डंगाेलले पनि सटर नभत्काए डोजर लगाउने चेतावनी दिइसकेका छन् ।