व्यक्तित्वबिहिबार, १२ बैशाख , २०७६

खुट्टा गुमेपछि बनेका पौडीवाज

महाभूकम्पको ४ वर्ष

मुकेश पोखरेल

२०७२ सालको भूकम्प गएको एक वर्ष वितेको थियो । भूकम्पमा भाग्ने क्रममा घरले किचेर दुवै खुट्टा काट्नुपरेपछि रमेश खत्री (२१) कृत्रिम खुट्टा लगाएर हिंड्ने अभ्यास गरिरहेका थिए । एक दिन फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उनलाई सोधे, “पौडी खेल्न सक्छौ ?” रमेशले तत्काल जवाफ दिए, “सक्छु दाइ !” 

तर, उनलाई पौडिन आउँदैनथ्यो । “गाउँको छिपछिपे खोलामा पानी थुनेर डुबुल्की मारेको थिएँ, केही नसोची सक्छु भन्दिएँ”, उनी त्यो प्रसंग सम्झिन्छन् । त्यसपछि नरेन्द्रले रमेशलाई होटलको स्वीमिङ पुलमा पुर्‍याए । अरूहरू पौडिएको देखेर हौसिएका उनी झ्याम्मै पानीमा हाम फाले । तर, पौडिन सकेनन् । रमेश भन्छन्, “पौडिन जानिनँ, खूब पानी खाएँ ।” उनले हार खाएनन् । प्रयास जारी राखे ।

‘नेपाल हेल्थ केयर इक्युपमेन्ट डेभलपमेन्ट फाउण्डेशन’ को संरक्षणमा बसेका रमेश त्यहाँबाट ‘बीआई फाउण्डेशन’ मा बस्न थाले, त्यसपछि उनको पौडीसँगको यात्रा फराकिलो बन्यो । र, अपाङ्गता भएका व्यक्तिहरूमाझ कुशल पौडीवाज भएर निस्किए । तीन वर्षअघि जापानमा पौडीको तालिम लिएपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थाले ।

२०७४ सालमा अपाङ्गता भएकाहरूबीच भएको राष्ट्रिय पौडी प्रतियोगितामा उनी प्रथम भए । एक वर्षअघि इण्डोनेशियामा आयोजित एशियन पौडी प्रतियोगितामा ४३ देशका सहभागीहरूबीच १४औं बनेका रमेशको सपना छ, सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलमा भाग लिने । उनी पौडीका साथै क्रिकेट, बास्केटबल र टेबल टेनिस पनि खेल्छन् ।

उँचो आत्मविश्वास
रमेशले १२ वैशाख २०७२ को अपराह्न ४ बजे काठमाडौंबाट घर (दैलेख) जाने बसको टिकट काटेका थिए । बिहान किनमेल गरेर गोंगबुस्थित भूमेश्वरी गेष्टहाउसमा खाना खानै लाग्दा भूकम्पले झट्का दियो । भाग्ने क्रममा उनी भर्‍याङमा लडे, घरको बिमले च्याप्यो । राति १२ बजे उद्धार गरेर अस्पताल पुर्‍याइँदा उनको घुँडाभन्दा तलसम्मको भाग काम नलाग्ने भइसकेको थियो ।

खुट्टा गुमे पनि उनले आत्मविश्वास गल्न दिएनन् । “दुर्घटना टार्न सकिंदैन, त्यसलाई सहज रूपमा स्वीकारे मात्र जीवनमा अघि बढ्न सकिन्छ”, उनी भन्छन् ।

 अप्ठेरो परिस्थितिमा परिवार र आफन्तको साथ पाए असम्भव केही नहुने उनको अनुभव छ । आत्मविश्वासकै बलमा उनी हङकङका दुई स्वयंसेवीको साथमा सगरमाथा आधार शिविर पुगेर चैत अन्तिम साता फर्किए ।

“काठमाडौंदेखि मन्थलीसम्म बस, लुक्लासम्म जहाज र त्यसपछि हिंड्दै र कृत्रिम खुट्टाले घाउ बनाएपछि कतिपय ठाउँमा घिस्रिंदै आधारशिविर पुगें”, उनी भन्छन् । विगतमा पढाइ छाडेर बसेका उनले खुट्टा गुमेपछि नै जोरपाटीको खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा ८ कक्षामा भर्ना भएर अध्ययन अघि बढाएका थिए । हालै उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् ।

पढ्नुहाेस्:

डोब भुलेको पुनर्निर्माण

पुराना सामग्रीबाटै पुनर्निर्माण

भय भुल्दै, लय भुल्दै

पुनर्निर्माणको गल्तीबाट पाठ सिक

प्रतिकृया दिनुहोस