संशोधन विधेयकको विरोधमा कांग्रेस, माओवादीका कार्यकर्ता समेत सडकमा
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विरोध गर्दै बुटवल, पाल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, नवलपरासी लगायतका जिल्लामा भएका प्रदर्शनमा नेपाली कांग्रेस र नेकपा माओवादी, राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु समेत सडकमा आएका छन् ।
बुटवलामा आज विहानैदेखि एमाले निकट युवाहरुले विरोध प्रदर्शन शुरु गरे पनि कांग्रेस निकट युवाहरुको समूह ‘अखण्ड लुम्बिनी लागि दबाब अभियान’ ले अनिश्चितकालीन बन्दको आह्वान गरेको छ ।
सडकमा विरोध प्रदर्शन गर्नेहरुमा कांग्रेस र एमाओवादी केन्द्रका कार्यकर्ताहरु समेत उल्लेख्यमात्रामा देखिएका छन् ।
त्यसैगरी पाल्पामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका ६ राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गरी बन्द तथा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरेका छन् ।
बुटवलमा सडक र चोकचोकमा टायर बालेर युवाहरुले प्रदर्शन गरेका छन् । बन्द र चक्काजामले गर्दा पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने लामो दूरीको यातायातका यात्रुहरु अलपत्र परेका छन् ।
प्युठानमा पनि यातायात र व्यापार व्यवसाय बन्द छ भने चोकचोकमा टायर बालेर विहानैदेखि प्रदर्शन भइरहेको छ । पाल्पा, गुल्मी लगायतका जिल्लाहरु पनि बन्द छन् । बन्दले गर्दा जनजीवन तनावपूर्ण बनेको छ ।
दीपक ज्ञवाली, बुटवल