नेपाल र थाइल्याण्डको खेल शुरु , नेपालकाे ब्याटिङ
एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेल नेपाल र थाइल्याण्डबिच शुरु भएको छ ।
थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो ।
आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।
नेपालले पहिलो खेलमा म्यान्मारलाई सात विकेटले पराजित गरेको थियो ।
बुधबार भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोड्दै नेपाल शीर्ष स्थानमा छ ।
सेमिफाइनल यात्रा लगभग पक्का गरिसकेको नेपाल समूह विजेताको दौडमा रहेको छ । आयोजकलाई हराउन सके नेपाल समूह विजेता बन्नेछ ।
यता आयोजक थाइल्याण्ड नेपाललाई रोक्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ ।
समूहको तेस्रो स्थानमा रहेको थाइल्याण्डले दुई अङ्क जोडेको छ । नेपाललाई फराकिलो अन्तरले पराजित गरेमा थाइल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
यसै समूहको अर्को खेलमा मलेशियाले म्यान्मारको सामना गर्नेछ ।
मलेशिया चार अङ्क जोडेर दोस्रो र अङ्कविहीन म्यान्मा पुछारमा छ ।