भूकम्प गएको चार वर्ष हुँदा पनि सकिएन पुनर्निर्माण
२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा धादिङमा पुनर्निर्माणको काम करीब ६० प्रतिशत भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका अनुसार ८३ हजार २४ जना कूल लाभग्राही रहेको धादिङमा ७५ हजार जनाले अनुदान सम्झौता गरेका छन् ।
२०७५ चैत्र मसान्तसम्मको विवरण अनुसार ७३ हजार ७ सय ६१ जनाले पहिलो किस्ता लिएका छन् । यसैगरी ६२ हजार ९ सय १८ जनाले दोस्रो र ४८ हजार ५ सय ३९ जनाले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन धादिङका इन्जिनियर नरेश भट्टका अनुसार जिल्लामा ९ सय २९ जनाले पुनरावेदन दर्ता गराएका छन् ।
यसैगरी ४ हजार ७ सय ४ जना प्रबलीकरण लाभग्राहीको सूचीमा परेकामा ५ सय ६५ जनाको सम्झौता भइसकेको छ भने सबैले पहिलो किस्ता बापतको अनुदान रकम समेत लिइसकेका छन् ।
स्थानीय पूर्वाधार धादिङका सामाजिक विकास विज्ञ भगवती खाँणका अनुसार जिल्लामा भूकम्पबाट ३ सय ८८ परिवारको जोखिमयुक्त ठाउँमा घर रहेकाले सार्नुपर्ने भौगर्भिक अध्ययनबाट देखिएकाले यसमध्ये २ सय २९ जना जग्गा प्राप्त गर्ने लाभग्राहीमा परेका छन् ।
जसमा रुबीभ्याली गाउँपालिका वडा नम्बर १, २, ४ र ५ नम्बर वडाका १ सय २१ घर, खनियाबास गाउँपालिका वडा नम्बर २ र ४ का ७ घर, गंगाजमुना गाउँपालिका वडा नम्बर १, २ र ५ का ५० घर, नीलकण्ठ नगरपालिका वडा नम्बर ४, ५ र १२ का ५१ घरपरिवार रहेका छन् ।
सरकारी विद्यालयहरूको अवस्था
२०७२ वैशाख १२ को भूकम्पबाट जिल्लाका ५ सय ८२ वटा विद्यालयका ४ हजार ४ सय ३९ वटा कक्षाकोठामा क्षति पुगेको थियो । गत चार वर्षमा जिल्लामा २ हजार १ सय ६२ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका इन्जिनियर निर्मल बोगटीका अनुसार विद्यालय व्यवस्थापन समिति र विभिन्न ठेकेदार कम्पनीबाट १ हजार २ सय २५ कक्षाकोठा बनेका छन् भने विभिन्न गैरसरकारी संस्थाले ९ सय ३७ वटा कक्षाकोठा निर्माण गरेका छन् ।
यसैक्रममा अब गैरसरकारी संस्थामार्फत २ सय ५९ कक्षाकोठा र ठेकेदार कम्पनी तथा विद्यालय व्यवस्थापन समिति मार्फत १ हजार २ सय ८३ कक्षाकोठा निर्माणाधीन रहेको इन्जिनियर बोगटीले बताए । अबको दुई वर्षभित्र विद्यालयको पुनर्निर्माणको काम सकिने उनले दाबी गरे ।
–सानुबाबु तिमिल्सिना