टिप्पणीबुधबार, ११ बैशाख , २०७६

पुराना सामग्रीबाटै पुनर्निर्माण

हिमालखबर

- सपना शाक्य र अमनराज खाटाखो

भूकम्पमा भत्केका संरचनाका सामग्री प्रयोग गरेरै पनि वातावरण अनुकूल र भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने प्रमाणित भइसकेको छ।

चार वर्षअघिको महाभूकम्पपछिको पुनर्निर्माणमा हामीले भत्किएको संरचनाका ईंटा, फलाम र काठ जस्ता सामग्रीलाई पुनः प्रयोग गर्न सकिन्छ भन्ने कुरा चटक्कै बिर्सिदियौं । महँगा र नयाँ यस्ता वस्तुको प्रयोगले धन, वातावरण र स्वास्थ्यमा नकारात्मक असर पार्नुको साटो पुरानैबाट पनि बलियो र वातावरण अनुकूल घर बनाउन सकिन्थ्यो । लाग्छ, हामीलाई भूकम्पले पाठ सिकाएन । तर, अहिले पनि ढिलै भइसकेको चाहिं छैन ।

प्रत्येक भूकम्पपछि मन्दिर वा घरको पुनर्निर्माणमा पुरानै सामग्री पुनः उपयोग गर्ने नेपाली परम्परा थियो, जुन यसपटक दोहोरिएन । १२ वैशाख २०७२ को भूकम्पले करीब ८ लाख घरमा क्षति पुर्‍यायो– पुनः प्रयोग हुनसक्ने ढुंगा, ईंटा, माटो, काठ, धातु र टायलको थुप्रो लगाउँदै ।

भूकम्प लगत्तै पीडितहरूले बाँस, टार्पोलिन, फलेक र जस्तापाता जे भेटिन्छ त्यसैको प्रयोगबाट अस्थायी आवास बनाए । राहत वितरण गर्नेले दिएका ०.२ मिलिमिटर मोटाइका जस्तापातालाई अर्धवृत्ताकार मोडेरै भए पनि कटेरा बनाइए ।

तर, जब पहाडी क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्यो जस्ताभित्रको सानो कोठा तातो भट्टीमा रूपान्तरण भइदियोे । अस्थायी स्कूलहरूमा हपहपी गर्मीका कारण बालबालिका पढ्नै नसक्ने भए । बर्खाका बेला छानामा पानीको आवाजले पढ्न–पढाउन नै असम्भव हुन थाल्यो । अलि ठूलो हावा चल्दा टीन च्यातिएर उड्न थाल्यो ।

गरीब परिवारलाई यस्तै कामचलाउ घरमा बस्नु बाहेकको विकल्प थिएन, त्यसैले मध्य नेपालको एउटा ठूलो हिस्सा झ्ुपडपट्टीमा परिणत हुनपुग्यो । यी घर थिएनन् ।

सस्टेनेबल माउन्टेन आर्किटेक्चर (एसएमए) टोलीले स्थानीय र पुराना घरका सामग्री प्रयोग गरेर बनाउन सकिने संक्रमणकालीन घरको वैकल्पिक डिजाइन ल्याएको छ । बाँस र भत्केका घरका ढुंगा–माटोबाट बनाउन सकिने एकतले यस्तो घरको जग मोटो र गारो ढुंगाको हुन्छ, मुख्य संरचनामा काठको पुनः प्रयोग गरिन्छ, दलिन, सत्तरी आदिमा पनि पुरानो काठ प्रयोग गर्न सकिन्छ ।

गारोको माथिल्लो भाग र छानोमा हलुका सामग्रीको प्रयोग र धातुको तारले बाँधिएको तेर्सो टाइबिमले घर बलियो बनाउँछ । पुरानो घरका फलेक वा बाँस प्रयोग गर्ने र निर्माणका क्रममा परिवारका सदस्यले श्रम गर्ने हो भने यस्तो घर रु.४० हजारमै तयार हुन्छ ।

हुन त सरकारले घर निर्माणको अनुदान वितरण गरेपछि पुनर्निर्माणमा प्रयोग हुनसक्ने पुराना घरका निर्माण सामग्री हटाइसकिएको छ । यस्ता सामग्री एकमुष्ट फाल्न सघाएर सरकार स्वयंले पुनर्निर्माणमा कंक्रिटको प्रयोग अनिवार्य जस्तो गराइदिएको छ । भग्नावशेषबाट निस्किएका निर्माण सामग्रीको थुप्रो मासिएको छ, पुरानो काठ सड्न थालेको छ ।

आर्थिक रूपमा सक्षम परिवारले कंक्रिटका संरचना निर्माण गरेका छन् । सिमेन्ट र छड उद्योगको व्यापार फस्टाएको छ । ईंटाको बढ्दो प्रयोगले उब्जाउ जमीन मासिएको छ । वातावरणमा प्रदूषण फैलाउने उद्योगहरूको व्यवसाय बढेको छ । र, यी सबै निर्माण सामग्री कालो धुवाँ फाल्ने ट्रकबाट ओसारपसार गर्दा वातावरण थप प्रदूषित हुन पुगेको छ ।

भत्केका घरको सामग्री प्रयोग गरेर एसएमए टोलीले गोदावरीस्थित इसिमोडको नलेज पार्कमा ग्रामीण क्षेत्रका लागि उपयोगी दुईतले भूकम्प प्रतिरोधी नमूना घर बनाएको छ ।

घरलाई जाडोका बेला न्यानो बनाइराख्न दक्षिण फर्केको छाना बनाइएको छ । घरका छानालाई जानेरै असमान बनाइएको छ, जसबाट सौर्य ऊर्जा सहजै प्राप्त गर्न सकियोस् । नेपालमा अधिकांश घरको छानामा ०.२५ मिलिमिटर मोटाइका जस्तापाता प्रयोग भइरहेकोमा हामीले दिगो समाधानका लागि अलकत्रा राखिएका १.२ मिलिमिटर मोटाइका रद्दी ड्रमलाई ६० सेन्टीमिटर ब्यासका टुक्रा बनाएर उपयोग गरेका छौं । यो घर कंक्रिट रिङ बिमको बलियो सहारामा अडिएको छ, जुन सिमेन्ट प्रयोग गरिएको एक मात्र ठाउँ हो ।

घरको माथिल्लो संरचनामा हलुका काठको प्रयोग गरिएको छ जसमा दोहोरो टाटीमा माटोको लिउन छ । माथिल्लो तलाको भित्तो तल्लो तलाको ढुंगाको गारोबाट अलिकति बाहिर निस्किएको छ जसलाई काठले बलियोसँग अड्याउँछ ।

६ मिटरको माथिल्लो तलामा एउटा स्टिल आई–बिमको प्रयोग गरिएको छ । घरका झ्यालढोका दक्षिणतर्फ छन् र दक्षिणी भित्तो अग्लो भएकाले हिउँदमा घरभित्र प्रशस्त तापक्रम छिर्न पाउँछ ।

(शाक्य र खाटाखो गैरनाफामुखी संस्था सस्टेनेबल माउन्टेन आर्किटेक्चरमा आवद्ध आर्किटेक्ट हुन् ।)

पढ्नुहाेस्:

भय भुल्दै, लय भुल्दै

पुनर्निर्माणको गल्तीबाट पाठ सिक

 

प्रतिकृया दिनुहोस