टिप्पणीबुधबार, ११ बैशाख , २०७६

भय भुल्दै, लय भुल्दै

मिलन बगाले

प्रकृति र संस्कृतिलाई भुलेर मौलिक शैली र सामग्रीलाई एकातिर पन्छाएर कुचुक्कको संरचना बनाउँदैमा पुनर्निर्माणको प्रक्रिया पूरा हुँदैन।

धादिङ सिद्धलेकस्थित पारम्परिक घरसँगै भूकम्पपछि पुनर्निर्माण गरिएको घर (बायाँ) ।

नयाँ वर्ष २०७६ शुरू भएको पर्सिपल्ट भूकम्पले गोरखा सेरोफेरोलाई अलिकति हल्लायो । केही नबिगारी, बेस्सरी नतर्साइ, आफूलाई नबिर्सनु भनेझैं ४.५ म्याग्निच्यूडको भूकम्प भीमसेन थापा गाउँपालिकालाई केन्द्रविन्दु बनाएर गयो । आज बिहान मात्रै धादिङ केन्द्रविन्दु भएर ५.२ र ४.३ म्याग्निच्यूडका दुई भूकम्पले झड्का दिए । 

१२ वैशाख २०७२ यता भूकम्पका यस्ता स–साना धक्का निरन्तर गइरहेका छन्, प्रभावित जिल्लामा भूकम्प प्रतिरोधी स–साना घर पनि बनिरहेका छन् ।

भूकम्पको भयलाई भुलेर देश आफ्नो जिन्दगीको लय समाउँदैछ । सुन्तला रङको पाललाई जस्ताको छाना भएका स–साना घरले विस्थापित गरिसकेका छन् । भूकम्पपछि बनेका घर जता गए पनि उस्तै, त्यसैले यी गाउँहरू कुनै परियोजना चलिरहेको ठाउँमा कर्मचारीका लागि बनाइएका क्वाटर जस्ता देखिन्छन् ।

गाउँघरले भूकम्पको भय बिर्सन थाल्दा परम्परागत निर्माण संस्कृतिको लयलाई पनि बिर्सिदिएको छ । पुनर्निर्माणले घर–बस्तीको परिभाषा नै बदलिएको छ । एकाध राम्रा कामबाहेक अधिकांश भेगमा समथर चौरमा घरहरू थुपारेपछि एकीकृत बस्ती बन्छ भनेझैं देखिन्छ, भूकम्पपछिको निर्माण । जगदेखि छानोसम्म ढलानका बन्धनले कसेका ती घरहरू एक वा दुई कोठाका छन् । कतिपय ठाउँमा पुरानो जीर्ण घर नभत्काइँदा सानोतिनो भूकम्पमा पनि त्यो नयाँ घरमाथि पोखिन्छ कि जस्तो देखिन्छ ।

सानै भए पुग्छ !
ग्रामीण आवश्यकता र परम्परासँग मेल नखाने साना घर किन बने ? पैसा नभएर ? नचाहिएर ? कि ठूलो घर बनाउने रहर नभएर ?

मसिनो गरी खोजिपस्ने हो भने गाउँठाउँमा ठूलो घर चाहिन्न झैं भएको छ । गएको ५—१० वर्षमा गाउँमा खेतीपाती बेस्सरी पातलिएको छ । धान, गहुँ, मकै, कोदो जस्ता अन्न फलाएर नाफा त टाढाको कुरा लगानी समेत नउठ्ने भएपछि गाउँ अहिले खेतीको विकल्प खोजिरहेको छ ।

वैदेशिक रोजगारीको आकर्षण बलियो छ । त्यो नभए बजारछेउमा स–सानो व्यवसाय अथवा नगदेबाली र पशुपालनतिर तानिएको छ गाउँ । तरकारी र फलफूल बारीबाटै बिक्छ, नबिके त्यहीं कुहिन्छ । यति भएपछि गाउँठाउँले ठूलो भण्डारको रहर गर्नै छोडिदियो । सफा चिटिक्क घरमा टीभी, फ्रिज राखेर बस्ने रहरले घुनपुत्ली र मुसा भित्र्याउने अनाज र पशुचौपायाको रहर पनि छाडियो ।

आफू विदेशमा जागिरे वा बजारको व्यवसायी, छोराछोरीको पढाइ बजारमा र बुवा–आमा मात्रै गाउँमा बस्ने पछिल्लो प्रचलनले गाउँका घरको आकारप्रकार, उपयोग र बनावटको शैली सबै खलबलिएको छ । चाडबाड र दशैं तिहार बाहेक अरू बेलालाई सानै घरले पुगेको छ ।

जरूरी नै नभएपछि ठूलो घर बनाउने रहर किन गर्नु ! आवश्यकता बढ्दै जाँदा पुरानो घरसँगै जोडेर कोठा थप्ने काम हुँदै जाला । पुनर्निर्माण प्रक्रियाले घर बलियो बनाउने ज्ञान भने गाउँमा फैलिएको छ । तर त्यो ज्ञानलाई किस्ता लिने बाध्यताको रूपमा मात्र बुझ्ंिदा थप निर्माणमा लापरबाही हुनसक्ने सम्भावना छ ।

वैदेशिक रोजगार, कृषि कर्ममा घट्दो चासो र बजारतिरको बसाइ गाउँले जिन्दगीका अस्थायी उद्यम मात्र हुन् । बजार वा साना शहरको रूप धारण गरेर भए पनि ढिलोचाँडो रित्ता गाउँघर भरिनु नै छ । गाउँघर फेरि भरिंदै जाँदा दुईकोठे घर त भकारी र ‘कोठा’ (धान लगायतका अन्न राख्नका लागि चोया बुनेर बनाइएको) का लागि मात्रै ठिक्क हुनेछन् ।

कृषिमा आश्रित समग्र जीवनशैली अट्ने घरका लागि सुहाउँदो नक्शा, घरधनीलाई प्रोत्साहन, अनुदान, ऋण सबैथोकको खाँचो महसूस नभएको हैन । ठूला घरका नक्शा पनि बनेका हुन् तर, सबैको ध्यान साना घरमै गयो । अनुदानकै भरमा साना घर छिटो र सुरक्षित बन्ने भएपछि धेरैको रोजाइमा त्यही पर्‍यो । निर्माण सामग्रीको अभाव, पानीको अभाव र निर्माणकर्मीको अभावले पनि नवनिर्माणलाई नराम्ररी खुम्च्यायो ।

शहरले भुलेको भय
भूकम्पमा ढुङ्गा–माटोको घर गल्र्यामगुर्लुम्म पोखिएको दृश्यको साक्षी बनेकोले गाउँठाउँले भूकम्पको भय भुलेन । त्यसैले त भूकम्प प्रभावित जिल्लाका गाउँका घर जसरी र जत्रा बने पनि बलिया बनेका छन् । तर, शहरको मन भने उतिसारो हल्लिए जस्तो देखिएन । वर्षौं वर्ष खुला छाडिएर भाँचिन ठिक्क परे जस्ता मसिना डण्डीमा पिलर उभ्याएर थप उचालिने शहरको रहरमा ब्रेक लागेको छैन ।

नयाँ बन्ने घर मापदण्डको कसिलो प्रावधानले बलियो बने पनि तला थप्ने काममा चाहिं शहर गम्भीर भइदिएन । टुक्रा डण्डीमा उस्तै मसिना डण्डी जोडेर तला थप्ने रहर गर्नेहरूले त्यसरी थपिएका तलामा चार वर्षअघि ठूलो क्षति पुगेको भुसुक्कै भुलेका छन् ।

अर्को डरलाग्दो भूल त कम्पाउण्ड पर्खाल बनाउँदा भएको छ । गतिलो जग नहालेर विना पिलर, ढलानका बन्धन नकसी बनाइएका कम्पाउण्ड पर्खालहरू ढलेर पुर्‍याएको क्षति भुलेर अहिले फेरि पर्खाल निर्माणमा पुरानै लापरबाही दोहोरिएको छ । भूकम्प प्रभावित जिल्लाभन्दा बाहिरको निर्माण शैली र संस्कृतिमा त झन् कुनै परिवर्तन आएको छैन ।

१७ चैतमा बारा र पर्सामा आएको चक्रवातले पक्की र अर्धपक्की घरसमेत भत्कायो । मानवीय क्षति पक्की घरले नै बढी निम्त्याउँछ । हावाको झेकाले नै लडाउन सक्ने पक्की घर भएका ठाउँमा भूकम्प गयो भने विनाशलीला कस्तो र कत्रो होला ? घर निर्माण गर्दा भूकम्पको भय भुल्ने काम आत्मघाती हो । प्रकोप प्रतिरोधी बलियो आवास बनाएर मात्र ढुक्क बनौं ।

लय भुलेको पुनर्निर्माण
पुनर्निर्माणले घरको आकार त खुम्च्यायो नै, समग्र निर्माण शैली र संस्कृतिको लय पनि खल्बल्यायो । परम्परागत सीप मासिएर नयाँ निर्माण सामग्रीहरू भित्रिए । नयाँ सामग्रीसँग राम्ररी घुलमिल हुन नपाएका डकर्मी र घरधनीले नक्शामा देखाएझैं बलिया घर बनाए कि बनाएनन्, निर्माण सामग्री पनि गुणस्तरीय छन् कि छैनन् भन्ने प्रश्न उठ्छ ।

परम्परागत निर्माण पद्धतिमा सुधार गर्नु सट्टा त्यसलाई सर्लक्कै छोडेर औद्योगिक उत्पादनकै भरमा घरलाई सामान जस्तो बनाउँदा पुनर्निर्माण लयात्मक हुन सकेन ।

‘एकीकृत वास्तुशास्त्रीय सिद्धान्त’ मा माइकल डब्लू. मेहाफ्फी र निकोस ए. सालिन्गारोस लेख्छन्— ‘परम्परागत वास्तुकला, कला, र शहरी व्यवस्थापनबाट मानव जातिले आफ्नो भौतिक आवश्यकता मात्र परिपूर्ति गरेको छैन, यस जगतमा व्याप्त प्राकृतिक वातावरणले प्रवाह गर्ने सौन्दर्यमूलक स्वभाव पनि आम मानिसलाई प्रदान गरेको छ ।

घर बनाउनु भौतिक आवश्यकता पूरा गर्नु मात्र हैन, घरले प्रतिनिधित्व गर्ने प्राकृतिक सौन्दर्य र स्वभाव मुख्य कुरा हो । घर बनाउँदा हामी त्यो पाउँछौं भन्ने चेतनाले हामी निर्देशित हुनुपर्दछ ।’ प्रकृति र वासस्थानको मानवीय सम्बन्ध थप खोतल्दै उनीहरू लेख्छन्— ‘आम मानिस स्वभावले नै प्राकृतिक चरित्र भएका घरहरूमा बस्न चाहन्छन् र त्यो चरित्र ग्रहण गर्नका लागि निकै कोशिश गर्छन् ।

आफ्ना बैठक कोठा सजाउँछन् । भित्ता रङ्गाउँछन् । विभिन्न चित्र झुन्ड्याउँछन् । तर यसो गरेर प्राकृतिक वातावरण बन्दैन । प्राकृतिक वातावरणका लागि त डिजाइन गर्दादेखि नै बोटबिरुवा, जनावर, घाम र प्रकृति आदिसँग सामञ्जस्य कायम राख्नुपर्दछ ।’ तर हाम्रो पुनर्निर्माण प्रक्रिया प्रकृति र संस्कृतिबाट पर भागेर अन्धकारमा रमाउन खोजिरहेछ ।

प्रकृति र संस्कृतिबाट पर रहेर, मौलिक शैली, शिल्प र सामग्रीलाई विस्थापित गरेर, एक वा दुई वटा कुचुक्क कोठामा गाउँघरलाई अल्झाएर पुनर्निर्माणको प्रक्रिया पूरा हुँदैन । घर प्रकोप प्रतिरोधी हुनुपर्छ भन्नेमा दुईमत छैन तर घर र बस्तीको लय र बान्की पनि सँगसँगै अस्तित्वमा हुनुपर्छ । यसो हुन सके मात्र समाज जीवन्त रहन्छ । हाम्रो जीवन्त निर्माण संस्कृतिको जय होस् !

पढ्नुहाेस्:

पुनर्निर्माणको गल्तीबाट पाठ सिक

प्रतिकृया दिनुहोस