समाचारबुधबार, ११ बैशाख , २०७६

राष्ट्रपति भण्डारी चीन प्रस्थान

रासस

आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् ।

नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत नौ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी भण्डारीको भ्रमण १९ वैशाखसम्म रहने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गरे ।

बिदाइका लागि मन्त्रीहरू, सांसद, सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

राष्ट्रपति बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने छिन् । राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने छिन् भने स्वदेश फर्कदा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको भ्रमण गर्नेछिन् । उनले ती दुवै प्रान्तका राजनीतिक नेताहरूसँग भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् ।

राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस