आइएसआइएसद्वारा श्रीलंका विष्फोटको जिम्मेवारी
श्रीलंकामा इष्टर सण्डे पर्वका अवसरमा ३२० जनाको ज्यान जाने गरिको बम आक्रमणको जिम्मा इस्लामिक अतिवादी समूह आइएसआइएसले लिएको छ ।
घटनामा ५०० भन्दा बढी घाइते भएका छन् ।
आफ्नो समाचार संस्था अल–अमाकमार्फत मोबाइल मेसेजिङ एप टेलिग्राममा आइएसआइएसले यस्तो दाबी गरेको हो । सन्देशमा मारिनेहरुलाई ‘इस्लामिक स्टेट विरोधी र अमेरिकी नीति समर्थक’ भनिएको छ ।
आक्रमण आत्मघाती भएको र बम विष्फोटमा संलग्नहरु ‘इस्लामिक स्टेटका योद्धाहरु’ भएको पनि सन्देशमा उल्लेख छ ।
तर, आफ्नो दाबीलाई पुष्टि गर्ने तस्वीर, भिडियोलगायत अन्य प्रमाणहरु भने दिइएको छैन ।
यसअघि सामाजिक सञ्जालमा घटना आइएसआइएसले नै गराएको दाबीका साथ अपुष्ट भिडियो सार्वजनिक भएको थियो ।
श्रीलंकामा आइतबारको आक्रमणमा चर्च र ठूला होटलहरुलाई केन्द्र बनाइएको थियो ।
घटनाका विषयमा श्रीलंकाली अधिकारीमा विवाद जारी छ । सरकारलाई यस्तो घटना हुने बारे पूर्व जानकारी हुँदाहुँदै पनि कारबाहीका लागि कदम नचालेको आरोप लागेको छ ।
श्रीलंकाली सरकारले घटनामा नेशनल तौहीद जमातको भूमिका हुनसक्ने प्रारम्भिक आशंका गरेको थियो । जमात श्रीलंकामा रहेका अल्पसंख्यक मुस्लिम समुदायको सानो अतिवादी संगठन हो ।
श्रीलंकामा करिब ९ प्रतिशत मुस्लिम समुदाय बसोबास गर्छन् ।
यसअघि अमेरिकाले पनि घटनामा आइएसआइएसको संलग्नताको आशंका व्यक्त गरेको थियो ।
विष्फोटमा निधन भएकाहरुको श्रीलंकामा आज शोक सभाका साथै पहिलो चरणको सामूहिक अन्त्येष्टिको आयोजना गरिएको थियो ।
सरकारले प्रहरीलाई थप सक्रिय बनाउँदै संकटकाल समेत लगाएको छ ।