रिना बस्नेत प्रकरणः प्रदर्शनकारीमाथि अश्रृग्यास
शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी मोरङको पथरी शनिश्चरे १ की रिना बस्नेतको ‘हत्यारा’ पत्ता लगाउन स्थानीयले निकालेको प्रदर्शनमा प्रहरीले अश्रृग्यास प्रहार गरेको छ ।
स्थानीयले प्रदर्शनीका क्रममा नगरपालिकामा ढुंगा प्रहार गरेका थिए । प्रदर्शनकारीले थप क्षति गर्ने देखिएका कारण अश्रृग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
स्थानीय–प्रहरी झडपमा दुई जना घाइते भएका छन् ।
दोषी पत्ता लगाउन सोमबार एक घण्टा चक्काजाम गरेका स्थानीयले मंगलबार बजार बन्द गराएका थिए ।
प्रहरीले घटनामा संलग्न हुनसक्ने भन्दैं एक युवालाई पक्राउ गरेको छ । उनले रिनाको मृत्युको रात बारम्बार मोबाइलमा फोन गरेको भेटिएको प्रहरीले जनाएको छ ।
शुक्रबार पथरीमै जन्मोत्सवको पार्टीमा सहभागी २९ वर्षीया रिना त्यसपछि कन्सर्ट हेर्न गएकी थिइन् । उनले पार्टीमा मदिरा पिएकी थिइन् ।
शनिबार बिहान उनको शव घर बाहिर नग्न अवस्थामा भेटिएको थियो ।
परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गरेको छ ।
वैदेशिक रोजगारमा रहेका उनका श्रीमान् घर फर्किएका छन् । उनले दोषी पत्ता लगाउन माग गरेका छन् ।
रिनाको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । शवकाे पोष्टमोर्टम हुन भने बाँकी छ ।