प्यूठानमा संशोधन विधेयकको विरोधमा प्रदर्शन, जिल्ला बन्द
सरकारले दर्ता गरएको संविधान संशोधन विधेयक विरुद्ध प्यूठानमा पनि विरोध प्रदर्शन भइरहेको छ ।
हिजो, १४ मंसीर राति मन्त्रिपरिषदले पारित गरी संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा ५ नं. प्रदेशका पहाडी जिल्लाहरुलाई प्रदेश नं. ४ मा गाभिएको विरोधमा प्यूठानको खलंगा, बाग्दुला, विजुवार, भिंगृ, किमिचौर, बड्डाँडा, बाहाने, मच्छी लगायत बजारहरुमा विहानैदेखि टायर बालेर नारा जुलुससहित प्रदर्शन भइरहेको छ ।
जनताले स्वीकार गरिसकेको र कुनै विवाद नरहेको ५ नं. प्रदेशलाई टुक्राउने गरी हुन लागेको संविधान संशोधन जनभावना विपरित भएको अनेरास्वियुका केन्द्रीय सदस्य विनोद भण्डारीले बताए ।
भोलि १६ मंसीरमा रोल्पा र प्यूठानका संयुक्त संघर्ष समितिको आह्वानमा संशोधन विधेयकको विरोधमा चतुर्भुजमा दबाव सभा आयोजना गरिने भएको छ ।
विरोध प्रदर्शन र चक्काजामका कारण जिल्लाको सम्पूर्ण यातायात, व्यापार, शैक्षिक संस्था र कार्यालयहरु बन्द छन् ।
संशोधन विधेयकको विरोधमा एमालेको अगुवाईमा गुल्मी, पाल्पा, बुटवल, नवलपरासी, कपिलवस्तु लगायतका स्थानमा विरोधप्रदर्शन भइरहेको छ भने पूर्वपश्चिम राजमार्गमा यातायात ठप्प छ ।
विजयसिंह भारती, प्यूठान