समाचारसोमबार, ९ बैशाख , २०७६

फेरि चिनी आयात रोक्ने सरकारी निर्णय

शरद ओझा

चिनीमा लगाइएको परिमाणात्मक प्रतिबन्धलाई असार मसान्तसम्म निरन्तरता दिइएको छ ।

६ वैशाखको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म चिनी आयात गर्न नदिने निर्णय गरेको स्रोतले बताएको छ ।

गत ३१ भदौमा सरकारले २०७५ वैशाखदेखि चैत मसान्तसम्म ९४ हजार ९ सय मेट्रिकटन चिनी आयात गर्न पाइने गरी कोटा निर्धारण गरेको थियो।
सरकारले कोटा तोक्नुभन्दा अगाडि नै ९४ हजार ९ सय मेट्रिकटनभन्दा बढी चिनी आयात भएपछि असोजयता नेपाल साल्ट ट्रेडिङको २ हजार ५ सय मेट्रिक टन बाहेक चिनी आयात भएको छैन ।

स्रोतका अनुसार चैत मसान्तसम्मको समयसीमालाई मन्त्रिपरिषद्ले असार मसान्तसम्म बढाएको छ । सरकारी निर्णयपछि अब असार मसान्तसम्म नेपालमा चिनी आयात नहुने भएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयातमा प्रतिबन्ध सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ ।

संसद्को सार्वजनिक लेखा समितिले चिनी आयातमा कोटा तोक्ने सरकारको निर्णयमा प्रश्न उठाएपनि सरकारले भने चिनी आयातको प्रतिबन्धलाई निरन्तरता दिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा पनि चिनी आयातमा कोटा तोक्ने सरकारको निर्णयमा प्रश्न उठाइएको छ ।

२५ चैतमा नेपाल उद्योग परिसंघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै व्यवसायीले झुक्याएर चिनीमा बन्देज लगाउन लगाएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भनेका थिए, “अर्काे वर्ष पनि चिनी बिक्री गर्न नसक्ने गरी आयात भएको छ, पाकिस्तानको आयात रोकिदिनु प¥यो भने । होला त नि भनेर मैले आयात रोकिदिएँ । भोलिपल्टदेखि बजारमा चिनी छैन ।” तर, प्रधानमन्त्री ओलीले व्यापारीले झुक्याएको भनेको एक साता नबित्दै पुनः चिनी आयात रोक्ने सरकारले निर्णय गरेको छ ।

उद्योग मन्त्रालय स्रोतले भन्यो, “प्रधानमन्त्रीले नै व्यापारीले झुक्याएको भनेकाले चिनीमा लगाइएको बन्देज खुल्छ जस्तो लागेको थियो । तर, मन्त्रिपरिषद्ले असार मसान्तसम्म चिनी आयात रोक्ने निर्णय गरेको छ ।”

सस्तो मूल्यमा चिनी आयात भइरहेको र नेपाली उद्योगीले त्यससँग प्रतिस्पर्धा गर्न नसकिरहेकाले चिनी आयात रोक्न सरकारसँग माग गर्दै आएका थिए ।

सरकारले स्वदेशी चिनी उद्योगीले प्रतिस्पर्धा गर्न कठिन भएको बताएपछि ४ वैशाख २०७५ मा चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत बनाएको थियो ।

सरकारले उपभोक्तालाई मारमा पार्ने गरी मूल्य वृद्धिको निर्णय गरेको भन्दै आलोचना भएको थियो । सरकारले चिनीमा कोटा तोकेपछि गत असोजबाट नेपालमा चिनी आयात रोकिएको छ । जस कारण चिनीको बजार मूल्य लगातार बढिरहेको छ । आयातमा बन्देज लगाउनुपूर्व प्रतिकेजी रु. ६० रहेको चिनी हाल प्रतिकेजी रु. ९० सम्ममा बिक्री भइरहेको छ ।

उखु किसानको रकम भुक्तानीको वातावरण बनाउन चिनी आयातमा कोटा निर्धारण गर्नुपरेको उद्योग मन्त्रालयका अधिकारीको भनाइ छ । आलोचकहरू प्रतिस्पर्धा गर्ने क्षमता नभएका उद्योगलाई संरक्षण गर्ने नाममा सरकारले उपभोक्तालाई मारमा पारिरहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस