ठूला करदाता कार्यालयविरुद्ध एनसेलद्वारा रिट दायर
कर तिर्ने सातदिने म्याद सकिन एक दिनअघि ठूला करदाता कार्यालयविरुद्ध एनसेलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको पूँजीगत लाभकर चित्त बुझ्दो नभएको भन्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेको हो ।
यही ३ वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले चुक्ता गर्नुपर्ने लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ निर्धारण गरेको थियो । तर, उक्त रकम चित्तबुझ्दो नरहेको भन्दै एनसेलले सोमबार सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
टेलियासोनेरा कम्पनीले मलेसियाको अजियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत शेयर स्वामित्व बेच्दा भएको पूँजीगत लाभ कर एनसेल र अजियटाले नै तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले गरेको थियो । उक्त फैसलाको पूर्णपाठ आएपछि ठूला करदाताले कर निर्धारण गरी १ हप्ताभित्र उक्त रकम चुक्ता गर्न भनेको थियो ।
सर्वोच्चले गरेको उक्त फैसलाअनुसार ठूला करदाता कार्यालयले टेलियासोनेराले अजियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पूँजीगत लाभ भएको थियो । त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ निर्धारण भएको थियो ।
सर्वोच्चले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ अग्रिम रूपमा तिरिसकेकाले बाँकी ३९ अर्ब ६ करोड ६ लाख कर निर्धारण गरी तिर्न एक साताको समय दिएको थियो ।