माथिल्लो तामाकोशी ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरिँदै
स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चुनौतिपूर्ण मानिएको पेनस्टक पाइप जडानको तयारी थालिएको छ ।
परियोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइन जडान २२ वैशाख भित्र शुरु हुनेछ भने माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा जडान शुरु गरिने छ ।
आयोजनाको तल्लो ठाडो सुरुङमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवम् चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाई र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्ने छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोसी हाइड्रोपापर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
“माथिल्लो तामाकोशीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तिब्रता दिनुहोस्”, घिसिङले निर्देशन भने ।
घिसिङसहितका उच्च अधिकारीहरुको भ्रमणका क्रममा बाँध, इन्टेक र बालुवा थिग्रयाउने पोखरीमा आगामी जेठ महिनाको पहिलो साताभित्रमा पानी भरी परीक्षण गर्नेबारे छलफल भएको थियो ।
घिसिङले हेडवक्र्सका संरचनाहरुमा आगामी जेठको पहिलो साताभित्र पानीभरी संरचना र गेटहरुको परीक्षण शुरु गर्न निर्देशन दिएका थिए ।
२०७२ को भूकप्प, नाकाबन्दी तथा ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो ।
आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकेर विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो ।
भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको छ ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा ब्याङ्क कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो ।
अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संसोधित अनुमान छ । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २/२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैयाँ नेपाल सरकारले ऋण लगानी गरेको छ ।
कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर छ ।
कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।