ब्लगसोमबार, ९ बैशाख , २०७६

त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ

वसन्त महर्जन

बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्।

त्रिपिटक बौद्ध धर्मको एउटै ग्रन्थ नभई गौतम बुद्धका उपदेश, वचन र सूत्रको तीन थरी पेटारो वा भागको संयुक्त नाम हो । इस्लामको ‘कुरान’, इसाईको ‘बाइबल’ धर्मग्रन्थ भए जस्तै बौद्धको ‘त्रिपिटक’ हुन्छ भन्ने भ्रम धेरैमा पाइन्छ ।

सामान्य ज्ञान सम्बन्धी पुस्तकमा समेत यही कुरा उल्लेख हुँदा सर्वसाधारण भ्रमित हुनु स्वाभाविकै हो ।

गौतम बुद्ध (इसापूर्व ५६३–४८३) ले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । त्यसपछिका ४५ वर्ष उनले मानिसहरूलाई धर्म–दर्शन तथा सामाजिक जीवनका कुरा बुझएर बिताए ।

बुद्धका ती उपदेशलाई उनीहरू ‘बुद्ध वचन’ का रूपमा स्मृतिमा सँगाल्थे र छलफल समेत गर्थे । तर त्यसबेला लिपिबद्ध गर्ने काम भएन ।

तस्वीर स्रोतः नेपाली संसार

बुद्धको महापरिनिर्वाणपछि उनका उपदेश बिर्सने वा विकृत हुने आशंकाले भिक्षु महाकाश्यप महास्थविरको नेतृत्वमा भएको ७०० जना अर्हत भिक्षु सहितको प्रथम संगायन (एकसाथ गाउने सभा) मा ती उपदेश संकलन गर्न थालियो ।

बुद्धले आफूले विभिन्न ठाउँमा दिएका हरेक उपदेश उपस्थापक (सहयोगी वा सचिव) भिक्षु आनन्दलाई पुनः सुनाउँथे, तीक्ष्ण स्मरणशक्ति भएका उनले ती सबै सम्झ्रिाख्थे ।

प्रथम संगायनमा यिनै भिक्षु आनन्दले ‘मैले एक समय यस्तो सुनें’ भन्दै एकपछि अर्को उपदेश सुनाउँथे र भिक्षु संघबाट अनुमोदन हुँदै जान्थ्यो । त्यसपछि अन्य भिक्षुहरूले पनि उपदेशलाई स्मरणमा राख्न थाले । ती उपदेश त्रिपिटकभित्रको ‘सूत्र पिटक’ मा सुरक्षित रहेको मानिन्छ ।

संघमा बुद्धद्वारा निर्दिष्ट नीतिनियमलाई अत्यन्तै श्रद्धाका साथ लिइन्छ । बुद्ध शासनको (बौद्ध धर्मको प्रभाव हुन्जेल) आयुका रूपमा लिइने यी नीतिनियमलाई भिक्षु उपालीले स्मरणमा राख्थे ।

तस्वीर: वसन्त महर्जन

बुद्धको जीवनकालमै पनि नीतिनियमबारे कुनै भिक्षुलाई संशय लागे वा विवाद भए उपालीसँग बुझन जान्थे । सोही संगायनमा नीतिनियमहरूको पनि संकलन गर्ने काम भयो, जसलाई त्रिपिटकको ‘विनय पिटक’ मानिन्छ । यस्तै, बौद्ध दर्शन सम्बन्धी गम्भीर कुरा ‘अभिधम्म पिटक’ मा संकलित छन् ।

‘अभिधम्म पिटक’ को संकलनबारे विवाद छ । बुद्ध तुषित देवलोकमा तीन महीना बस्दा गरेको धर्मदेशना नै ‘अभिधम्म पिटक’ को विषयवस्तु हो भन्ने एक पक्षको मत छ भने अर्को मतले यसलाई भिक्षु महाकाश्यपको रचना मान्छ ।

अर्कातिर, यसको रचना प्रथम संगायनका बेलामा नभई पछि मात्रै भएको मान्नेहरूको संख्या पनि कम छैन ।

‘त्रिपिटक’ अन्तर्गत ‘सूत्र पिटक’ मा दीघ निकाय, मज्झ्मि निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय जस्ता विशाल ग्रन्थ छन् । यही पिटक अन्तर्गतको खुद्दक निकाय एउटै ग्रन्थ नभएर खुद्दकपाठ, धम्मपद, उदान, यतिवुत्तक, सुत्तनिपात, विमानवत्थु, थेरगाथा, थेरीगाथा, जातक, निद्देश (महानिद्देश र चुल्लनिद्देश), पटिसम्भिदामग्ग, अपदान, बुद्धवंश, चरिया पिटक जस्ता ठूला–साना ग्रन्थको संयुक्त नाम हो ।

‘विनय पिटक’ भित्र पाराजिकपालि, पाचित्तियपालि, महावग्गपालि, चुल्लवग्गपालि र परिवारपालि हुन्छन् । यस्तै, ‘अभिधम्म पिटक’ मा धम्मसङ्गिणिपालि, विभङ्गपालि, धातुकथापालि, पुग्गपञ्ञत्ति, कथावत्थुपालि, यमकपालि, पठ्ठानपालि हुन्छन् ।

मौलिक रूपमा पालि भाषामा रहेको ‘त्रिपिटक’ अहिले धेरै भाषामा अनुवाद भइसकेको छ । यो मूलतः बौद्ध दर्शनको हिनयान अन्तर्गत पनि थेरवादी सम्प्रदायसँग सम्बन्धित छ । महायान अन्तर्गतका विभिन्न सम्प्रदाय मौलिक संस्कृत भाषामा रहेका अन्य ग्रन्थलाई आआफ्नो मुख्य धर्मग्रन्थ मान्छन् ।

कुनै सम्प्रदाय नवव्याकरण भनेर प्रज्ञापारमितासूत्र, सद्धर्मपुण्डरिकसूत्र, ललितविस्तर, गण्डव्यूहसूत्र, दशभूमिकसूत्र, समाधिराजसूत्र, सुवर्णप्रभाससूत्र, लंकावतारसूत्र र सुखावतीव्यूहसूत्रलाई मान्छन् भने कुनै सम्प्रदाय नवव्याकरणमा पनि कुनै एउटा ग्रन्थलाई मात्र मान्यता दिन्छन् ।

तिब्बतमा प्रचलित ‘कंग्यूर’ र ‘तेंग्यूर’ पनि दुई ग्रन्थ नभएर सूत्र र शास्त्रको वर्गीकरण मात्र हो । बुद्धका उपदेशलाई सूत्र (कंग्यूर) र सूत्रको आधारमा विभिन्न विद्वान्ले गरेको व्याख्यालाई शास्त्र (तेंग्यूर) भनिन्छ ।

बौद्ध समाजमा ‘त्रिपिटक’ बाहेक अन्य ग्रन्थहरू पनि छन् । यति विस्तारित भण्डारमा के चाहिं पढ्ने भन्ने अलमल सामान्य पाठकमा हुन सक्छ । हिनयान र महायान दुई बौद्ध दर्शनको आदर्श फरक हुनुको अन्तर्य कसको गन्तव्य वा उद्देश्य कहाँसम्म भन्ने प्रश्नको फरक–फरक जवाफ मात्रै हो ।

हिनयानको अन्तिम लक्ष्य अर्हत्व प्राप्त गर्नु हो भने महायानीहरूको गन्तव्य बोधिसत्वलाई आदर्श मान्दै बुद्धत्वतर्फको यात्रा तय गरी स्वयं बुद्ध बन्नु हो । दुवैको जीवनदर्शनमा खासै फरक हुँदैन ।

आफ्नो रुचि र उद्देश्य अनुसारका ग्रन्थ रोज्नुपर्छ । ‘त्रिपिटक’ नै पढ्ने हो भने पनि एउटै कुरालाई बुद्धले फरक समय र व्यक्तिसँग उसको ग्रहण गर्ने क्षमता अनुसार दिएको उपदेश भनेर बुझनुपर्छ । यही कुरा अन्य बौद्ध सम्प्रदायमा पनि लागू हुन्छ । 

प्रतिकृया दिनुहोस