श्रीलंका विस्फोटमा मृतकको संख्या २९० पुग्यो (अपडेट), संदिग्ध २४ जना गिरफ्तार
श्रीलंकामा भएका आठ विस्फोटबाट मृत्यु हुनेको संख्या २९० पुगेको छ ।
सामाजिक सञ्जालहरू सबै बन्द गरिएको छ । बिहानदेखि कर्फ्यु हटाइएको छ ।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।
टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचना सुरक्षा निकायले सरकारलाई जानकारी नदिएको बताएका छन्।
श्रीलंकाली रक्षामन्त्री आर विजय बर्धनले घटनालाई आत्मघाती बताएका छन् । अहिले सम्म संदिग्ध सातजनालाई पक्राउ गरिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान श्रीलंकामा भएको बम विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै प्रम ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
बिस्फोटनको घटनामा ठूलो धनजनको क्षति भएपछि दुःख व्यक्त गर्दै प्रम ओलीले श्रीलंकाली समकक्षीलाई फोन गरेका हुन् ।
ओलीले फोन वार्ताका क्रममा समकक्षी मार्फत विस्फोटमा परी जीवन गुमाउनेप्रति श्रद्धासुमन घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले श्रीलंकाका विभिन्न स्थानमा भएका शृंखलाबद्ध बम आक्रमणमा परी कैयौं निर्दोषले जीवन गुमाउनुपरेको घटनाबाट आफूलाई अत्यन्त दुःखी बनाएको पनि समकक्षीलाई बताएका छन् ।
साथै श्रीलंकाले बेहोर्नुपरेको यो दुःखद् क्षणमा श्रीलंकाका जनताको साथमा नेपाली जनता पनि रहेको बताएका थिए ।
तीनवटा गिर्जाघर र तीन ठूला होटललगायत आठ ठाउँमा भएका विस्फोटमा साढे चार सयजनाभन्दा बढी घाइते भएका अस्पताल सूत्रले बताएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
इसाई धर्मावलम्बीहरूको पर्व इस्टर मनाइरहँदा ८ ठाउँमा विस्फोट भएको थियो । राजधानी कोलम्बोका तीनवटा गिर्जाघर कोचीकाडे, कटुवापिटीया र बाट्टीकालोवामा विस्फोट भएको थियो ।
त्यसैगरी तीनवटा ठूला होटल सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको बीबीसीले जनाएको छ ।
विस्फोटमा साढे चारसय जनाभन्दा बढी घाइते भएको त्यहाँका सुरक्षा अधिकारी र अस्पतालहरूले जनाएका छन् ।
इसाई धर्मावलम्बीहरू अप्रिल महीनामा पूर्णिमापछिको पहिलो आइतबारको दिन इस्टर पर्वमा मनाउँछन् ।
श्रीलंकामा १० वर्षअघि सकिएको गृहयुद्धपछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । घटनामा कयौं विदेशी नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ ।
विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री रानिल विक्रमसंघेले आपतकालीन बैठक बोलाएको जनाइएको छ ।