३१ परियोजनामा रु. २५ खर्ब लगानीको प्रस्ताव
विदेशी लगानीकर्ताहरुले जलविद्युत, स्वास्थ्य, शिक्षा, पूर्वाधार, उद्योग लगायतका ३१ परियोजनामा रु. २५ खर्बभन्दा बढीको लगानी प्रस्ताव गरेका छन् ।
सरकारले १५–१६ चैतमा आयोजना गरेको लगानी सम्मेलनमा प्रस्तुत गरेका ७७ परियोजनामध्ये २६ परियोजनामा ४३ वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ ।
त्यस्तै, लगानी आह्वान नगरिएका ५ वटा थप परियोजनामा समेत आवेदन प्राप्त भएको छ । यी सबै परियोजनामा कुल २५ दशमलव ३ बिलियन डलर (करीब रु. २५ खर्बभन्दा धेरै) लगानी हुनेछ ।
सम्मेलनमा नेपाल सरकारले ५० र निजी क्षेत्रले २७ परियोजना प्रस्तुत गरेको थियो । सबैभन्दा धेरै लगानी प्रस्ताव निजगढ अन्तर्राष्र्टिय विमानस्थल निर्माणमा परेको छ ।
निजगढमा ६ वटा आवेदन परेको छ । त्यस्तै, काठमाडौंको रिङरोडमा बिआरटी प्रविधि सञ्चालन गर्न ४, बाहिरी रिङरोड निर्माणमा ४ आवेदन परेका छन् ।
तमोर जलविद्युत आयोजनामा २, पश्चिम सेती जलविद्युत आयोजनामा १, पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि १ वटा आवेदन परेका छन् । कृषिका ५ परियोजनामा ७ वटा आवेदन परेका छन् । त्यस्तै, उर्जाका ७ परियोजनामा ८ वटा, पर्यटनका ३ परियोजनामा ३ वटा, यातायातका ९ परियोजनामा २२ वटा आवेदन प्राप्त भएको लगानी बोर्डले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
बोर्डले पहिलो चरणमा २७ परियोजनाका लागि आगामी अगष्टसम्ममा विकासकर्ता छनौट गरिसक्ने तयारी गरेको छ । त्यस्तै, दोस्रो चरणका १७ परियोजनाका लागि २० फेब्रुअरी, २०२० र तेस्रो चरणका ६ परियोजनाका लागि २० अगष्ट २०२० सम्ममा विकासकर्ता छनौट गरिनेछन् ।
सरकारले प्राप्त आवेदनहरुको मूल्यांकन तथा सम्मेलनमा भएका समझदारी र सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिसकेको छ ।