ब्लगआइतबार, ८ बैशाख , २०७६

सम्झने तरिका

कनकमणि दीक्षित

कामबाटै सम्झने हो, रवीन्द्र अधिकारीलाई ।

नेपालका तीन विमानस्थलका धावनमार्ग आज तयारीको सँघारमा छन् । तीनै विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा नयाँ टार्म्याक लगाएर पुनर्निर्माण हुँदैछ भने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग लब्याएर ३००० मिटरको बनाइँदैछ । पोखरामा पनि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र २५०० मिटरको धावनमार्ग बन्दैछ ।

पोखरामा धावनमार्ग निर्माण पूरा भएको खबर गत साता अखबारमा आयो । सुनिन्छ, भैरहवाको धावनमार्ग कालोपत्र गर्ने काम पनि दुई साताभित्रै सम्पन्न हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पुरानो कालोपत्र उप्काएर नयाँ ओछ्याउने काम हरेक राति १० बजेदेखि बिहान ८ बजेसम्म ५०–५० मिटरको दरले हुँदैछ ।

३६,००० फिटबाट पोखरा । तस्वीरः कनकमणि दीक्षित

‘सिनिसिजम्’ र ‘लो एक्स्पेक्टेशन्’ मा डुबेको हाम्रो समाजमा यस्तो रफ्तारमा काम हुनु पत्याइनसक्नु छ । कसरी यस्तो हुनपुग्यो, जवाफ दिनसक्ने मान्छे अहिले हामीमाझ छैनन् । पाथीभरा, ताप्लेजुङमा १५ फागुन २०७५ को हेलिकप्टर दुर्घटनाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ज्यान लियो । जति यी तीन धावनमार्गमा काम अगाडि बढ्दछ, उति नै रवीन्द्रजीको मिजास, निष्ठा र उत्साह स्मृतिमा ब्यूँझन्छ ।

जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कुनामा निर्माण कार्यको शुरुआतमा पूजा हुन्छ, जब भैरहवामा वर्षौंको गलफत्ती पश्चात विमानस्थल निर्माण कार्य अघि बढेको खबर आउँछ, र जब पोखराको धावनमार्ग चिटिक्क तयार भएको तस्वीरमा देखिन्छ, रवीन्द्र अधिकारी हामीसित भएका भए सोध्ने थिएँ, ‘यो सब सम्भव भयो कसरी ?’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बन्दै गरेको धावनमार्ग । तस्वीर स्रोतः द काठमाडौं पोष्ट

मैले बुझेसम्म पोखरामा चिनियाँ कन्ट्र्याक्टर राम्रो पर्‍यो, जसले ‘अन्डरबिड’ नगरिकन लाग्ने खर्चमा काम गर्छु भन्यो, यसै कारण प्रोजेक्ट फटाफट अगाडि बढ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कामको लागि पर्याप्त रोडागिट्टी सहित दुई सेट उपकरण तयार राखिए, ताकि कुनै कारण काम नरोकियोस् । भैरहवामा राजनीतिक संरक्षण प्राप्त डनहरूको विगविगी थियो, जसका कारण प्रोजेक्ट अफिस र कन्ट्र्याक्टर दुवै हैरान थिए ।

मन्त्री अधिकारीले नयाँ विमानस्थलहरुको काम सम्हाल्न नागरिक उड्डयन प्राधिकरणभित्र एउटा छुट्टै निकाय स्थापना गरेर सक्षम नेतृत्व नियुक्त गरे, जसले केही बाधा–व्यवधान आए मन्त्रीसँग सीधै सम्पर्क गर्न समेत सक्थ्यो । फेरि रवीन्द्रजी आफैं खट्ने भएकोले आलस्य र छक्कापञ्जाले धेरै ठाउँ पाएन ।

ट्विटरमा सक्रिय रवीन्द्रजीको हेलिकप्टर दुर्घटनाको दुई दिनअघि १३ फागुन (२५ फेब्रुअरी) अन्तिम ट्विट थियो, जो अहिले पनि हेर्न सकिन्छ । ट्विटमा अनलाइनखबर को पोस्ट उद्धृत गर्दै लेखिएको थियो: ‘चैत १८ देखि त्रिभुवन विमानस्थलको धावनमार्गको स्तरोन्नति थालिंदै’ ।

स्व. रवीन्द्र अधिकारीको अन्तिम ट्विट ।

मन्त्री भएपछि रवीन्द्रजीकै निवासमा पर्यटनको विषयमा करीब डेढ घण्टा आफ्ना धारणा राख्ने मौका पाएको थिएँ, विशेषगरी नेपाली पर्यटनबाट संख्या होइन आम्दानी कसरी बढाउने, द्वन्द्वको दाग लागेको ‘डेस्टिनेशन्’ को छवि कसरी उकास्ने, आदि इत्यादि ।

मन्त्रीको पर्यटन प्रवर्द्धनप्रतिको चासो र कटिबद्धता देखेर मैले खिचेको एउटा तस्वीर भोलिपल्टै फ्रेम गरी पठाएँ । पठाएको तस्वीर रवीन्द्रजीकै गृहशहर पोखराको थियो — तर ३६,००० फिट माथिबाट । केही महीनाअघि म जेट एअरवेजको बोइङ ७३७–८०० विमानमा दिल्ली उड्दै गर्दा एक्कासी तल बादल फाट्दा एकैछिनको लागि पोखरा शहर देखियो, अनि फेवाताल र पुरानो विमानस्थलको धावनमार्गको पातलो रेखा । मैले हत्तपत्त तस्वीर खिचिहालें ।

उत्साह बोकेका मन्त्रीलाई यो तस्वीर मन पर्ला भनेर फ्रेम गरीवरी ‘३६,००० फिटबाट पोखरा’ शीर्षक समेत राखी मैले तस्वीर नेपाल टुरिजम बोर्ड मार्फत पठाएँ ।

कामबाटै आज रवीन्द्र अधिकारीलाई सम्झने हो । मेरो लागि थप पोखराको त्यो हवाई फोटो पनि हुनपुग्यो ।

प्रतिकृया दिनुहोस