श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या १८७ पुग्यो (अपडेट)
श्रीलंकाको राजधानी कोलम्बोमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८७ पुगेको छ । मृतककाे संख्या अझ बढ्न सक्ने बताइन्छ ।
तीनवटा गिर्जाघर र तीन ठूला होटल गरी ७ ठाउँमा भएको विस्फोटमा पाँच सयजनाभन्दा बढी घाइते भएको अस्पताल सूत्रले बताएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
इसाई धर्मावलम्बीहरूको पर्व इस्टर मनाइरहँदा ७ ठाउँमा विस्फोट भएको थियो । राजधानी कोलम्बोका तीनवटा गिर्जाघर कोचीकाडे, कटुवापिटीया र बाट्टीकालोवामा विस्फोट भएको थियो ।
त्यसैगरी तीनवटा ठूला होटल सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको बीबीसीले जनाएको छ ।
विस्फोटमा साढे चारसय जनाभन्दा बढी घाइते भएको त्यहाँका सुरक्षा अधिकारी र अस्पतालहरूले जनाएका छन् ।
इसाई धर्मावलम्बीहरू अप्रिल महीनामा पूर्णिमापछिको पहिलो आइतबारको दिन इस्टर पर्वमा मनाउँछन् ।
श्रीलंकामा १० वर्षअघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।
विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । घटनामा कयौं विदेशी नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ ।
विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री रानिल विक्रमसंघेले आपतकालीन बैठक बोलाएको जनाइएको छ ।