न्यायाधीशहरू र प्रमुख निर्वाचन आयुक्तले लिए शपथ
सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माले आज शपथ लिएका हुन् ।
उनीहरूलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शपथ गराएका हुन् ।
प्रधानन्यायाधीश राणाले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए ।
सोही समारोहमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझालाई शपथ गराए ।
राष्ट्रपति भण्डारीले उनीहरू सातैजनालाई शुक्रबार नियुक्त गरेकी थिइन् ।