क्रिस गेलको विकेटसँगै आइपीएलमा सन्दीपको शानदार पुनरागमन
इन्डियन प्रिमियर लिग (आइपीएल)मा सन्दीप लामिछानेले शानदार पुनरागमन गरेको छन् ।
दिल्ली क्यापिटल्सका लागि किंग्स इलेभेन पञ्जाबविरुद्धको जारी खेलमा उनले ३ विकेट लिए । यी विकेटमा सबैभन्दा सनसनीपूर्ण क्रिस गेलको विकेट रह्यो ।
३७ बलमा ६९ रन बनाएर उत्कृष्ट प्रदर्शन गरिरहेका ओपनर गेललाई सन्दीपले क्याच आउट गराएका थिए । त्यसो त अर्का ओपर केएल राहुललाई पनि उनैले ११ रनको व्यक्तिगत स्कोर छँदा विकेट किपरबाट क्याच स्टम्पिङ गराएका थिए ।
सन्दीपले अर्को विकेट अलराउण्डर साम कुरानको लिए । सन्दीपले चार ओभरमा ४० रन दिए ।
पञ्जाबलाई ७ विकेटको क्षतिमा १६७ रनमा समेटने क्रममा दिल्लीका लागि कगिसो राबडा र अक्षर पटेलले दुई, दुई विकेट लिए ।
यसअघि पनि पञ्जाबविरुद्धको खेलमा सन्दीपले साम कुरान र सर्रफराज खानको विकेट लिएका थिए ।
सन्दीपले अहिलेसम्म खेलेका सबै खेलमा विकेट लिएका छन् । सन्दीपले कोलकाता नाइट राइर्डसविरुद्धको खेलमा एक, किंग्स इलेभेन पञ्जाबसँगको खेलमा दुई, सनराइजर्स हैदराबादसँगको खेलमा एक विकेट लिएका थिए ।
रोयल च्यालेञ्जर्सविरुद्धको खेलमा चार ओभरमा ४६ रन दिएर एक विकेट लिएर महँगो सावित भएपछि भने उनी टिममा मौका दिइएको थिएन ।
सन्दीपविनाका अघिल्ला तीन खेलमा दिल्लीले दुई खेलमा जीत र एकमा हार व्यहोरेको थियो ।
दिल्लीले अहिलेसम्मको नौ खेलमा पाँचमा जीत र चारमा हार बेहोरेको छ ।