टिप्पणीशनिबार, ७ बैशाख , २०७६

चाहिंदैन पोषणका पुरिया

डा.अरुणा उप्रेती

अचम्म लाग्छ, बालबालिकाको कुपोषण हटाउन हाम्रै स्थानीय उत्पादन पर्याप्त हुँदाहुँदै तिनको उचित प्रयोग गर्न किन सिकाइएको छैन ? सरकार बालरोग विशेषज्ञ र महिला स्वास्थ्यकर्मीको अनुभवलाई किन सुन्दैन ?

बाल भिटा र प्लम्पीनट जस्ता औषधीय र पूरक आहार नेपाली शिशुका लागि उपयुक्त नभएको बारे हिमाल मा सविना देवकोटाको अनुसन्धानात्मक रिपोर्ट 'बेकामे बाल भिटा' पढेपछि त्यसमा केही थप्न मन लाग्यो ।

म आफैंले पनि केहीअघि यसै विषयमा एउटा लेख लेखेकी थिएँ । त्यो लेख प्रकाशित भएपछि वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रकाश श्रेष्ठले भन्नुभएको थियो, “हामीले नेपालमा प्लम्पीनट र बाल भिटा चाहिंदैन भनेर लेखेका छैनौं, तर तपाईंको लेखसँग सहमत छौं ।” एक वरिष्ठ बालरोग विशेषज्ञको यो भनाइले मलाई के लाग्यो भने, स्वास्थ्य मन्त्रालयले कार्यक्रम, नीतिनियम बनाउँदा सम्बन्धित विज्ञहरूसँग छलफल गर्दैन ।

मैले विभिन्न जिल्लामा भेटेका बालरोग विशेषज्ञ, स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाले बाल भिटा र प्लम्पीनट बाँडेर कुपोषणको समस्या समाधान नहुने बताउँदै आएका छन्, तर पनि बाँड्न छोडिएको छैन । 

केही वर्षअघि काठमाडौंमा आयोजित एक सम्मेलनमा खाँदबारीमा कार्यरत स्वास्थ्यकर्मीले भनेका थिए, “बाल भिटाले बालबालिकालाई पखाला लगाएको छ, आमाहरूले आफ्ना नानीलाई बाल भिटा खुवाउन छाडेका छन् । हामीले जसोतसो बाँडिरहे पनि यसको उपयोगिता छैन ।”

अछाम र मकवानपुरका स्वास्थ्य स्वयंसेविकाले बालबालिकामा पखाला लाग्ने देखिएकाले आमाहरूले खुवाउन नमानेको बताएका थिए भने गोरखामा कार्यरत अर्का एक स्वास्थ्यकर्मीले बाल भिटाले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव नपारेको अनुभव सुनाए ।

बाल भिटा र प्लम्पीनट जस्ता आहार बालबालिकाको कुपोषण हटाउन साँच्चिकै उपयुक्त हुँदा हुन् त कुपोषणको ठूलो समस्या रहेको भारतमा पनि यस्ता वस्तु प्रयोगमा आउँथे । तर भारत सरकारले यस्ता वस्तुको बजार विस्तार गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको चाहना पूरा हुन दिएको छैन ।

अचम्म लाग्छ, नेपालको स्वास्थ्य मन्त्रालयले बालरोग विशेषज्ञ र महिला स्वास्थ्यकर्मीको अनुभवलाई किन सुन्दैन ? बालबालिकाको कुपोषण हटाउन हाम्रै स्थानीय उत्पादन पर्याप्त हुँदाहुँदै तिनको उचित प्रयोग गर्न किन सिकाइएको छैन ? तर यस्तो प्रश्न गर्नेलाई सरकारी कार्यक्रम विरोधीको ठप्पा लगाइन्छ ।

बाल भिटा म आफैंले खानामा मिसाएर खाँदा त्यसको स्वाद कत्ति पनि रुचिकर लागेन, बालबालिकाले यस्तो कसरी खान सक्लान् ? संभवतः यसका पक्षमा पैरवी गर्ने संस्थाका व्यक्तिहरूलाई पनि यसको स्वाद बारे थाहा छैन ।

यसबारे स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भनेका थिए, “कुनै एक मन्त्रीको पालामा बाल भिटा र प्लम्पीनट किनेर बाँड्ने निर्णय गरियो । बेच्नेलाई खुशी पारियो, आफू खुशी भइयो तर, यसको उपयोगिताबारे कतै छलफल भएन ।”

बदाम र चिनीबाट बनाइएको प्लम्पीनट फ्रान्सेली चिकित्सक आन्द्रे ब्रियेन (बालपोषण विशेषज्ञ) र इन्जिनियर मिरोल लेसकालले अफ्रिकाका कुपोषित बालबालिकाको उपचारको लागि बनाएका हुन् । उनीहरूले यसबाट नाफा आर्जन गर्ने वा व्यापार गर्ने उद्देश्य राखेका थिएनन् ।

तर, न्यूट्रिसेन नामक फ्रान्सेली कम्पनीले यसको ‘पेटेन्ट’ लिएर व्यापार शुरू गर्‍यो । बदाम र चिनीबाट सजिलै बनाउन सकिने यस्तो मिश्रणको भूकम्प, युद्ध जस्ता ठूला विपत्तिका बेला पोषिलो खानेकुराको अभाव हुँदा बालबालिकालाई दिन सकिन्छ । हाम्रो जस्तो पोषणयुक्त खाना प्रशस्तै पाइने ठाउँमा यस्ता वस्तु समस्याको दिगो समाधान हुनै सक्दैनन् ।

विभिन्न जिल्लामा बाँडिएको प्लम्पीनट र बाल भिटा धेरैजसो स्वास्थ्य चौकीमै कुहिन्छ, यदि अभिभावकले लगिहाले भने पनि बालबालिकालाई खुवाउँदैनन् । खुवाउनेले कति र कसरी ख्वाउने भन्ने हेक्का राख्दैनन् ।

मैले यस्ता वस्तु नेपाली बालबालिकाका लागि उपयुक्त नभएको बारे विभिन्न समयमा स्वास्थ्य मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव लगायतलाई भन्दै आएकी छु । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले भन्नुभएको थियो, “तपाईं ठूला व्यापारीसँग एक्लै लड्नुहुन्छ ?” पछि थाहा पाएँ, ती व्यापारीलाई रोक्ने साहस सरकारसँग पनि रहेनछ ।

केहीअघि नेपालमा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा स्वास्थ्य मन्त्रालयले भन्यो ‘बाल भिटा ख्वाएर नेपाली बालबालिकाको स्वास्थ्यस्थिति सुध्रेकाे छ ।’ मैले तत्कालै प्रतिक्रिया दिएँ, ‘महिला स्वयंसेविकाहरू यस कार्यक्रममा हुनुहुन्न, नत्र बाल भिटाको वास्तविक कथा त उहाँहरूले सुनाउनुहुन्थ्यो । स्वास्थ्य मन्त्रालयले यसरी नै व्यर्थको बाल भिटा बाँडिरहने हो भने आगामी २५ वर्षसम्म पनि अवस्थामा सुधार आउने छैन ।'

उक्त सम्मेलनमा सरकारले नै सञ्चालन गरेका पुनर्स्थापना केन्द्रमा कुपोषित बालबालिकालाई घरेलु खानेकुरा ख्वाएरै ठीक पारिएको कुरै उठाइएन । न त नेपालमा विभिन्न समुदाय र संस्कृतिका खानाले पोषणमा पार्ने प्रभावबारे छलफल गर्न दिइयो ।

हाम्रा सांस्कृतिक मूल्य–मान्यताले पनि बालबालिका र महिलाको पोषणमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छन् भन्नेबारे कुनै गोष्ठीमा छलफल हुँदैन ।

हामीले त्यस्तो संस्कृति र हाम्रा आफ्नै उत्पादनको बारेमा छलफल गर्नु जरूरी छ, त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि बेकामे पुरिया बाँड्नुको साटो आफ्नै स्रोत–साधनबाट अनुसन्धान गरेर समुदायलाई पोषण सम्बन्धी व्यावहारिक ज्ञान दिनु झन् जरूरी छ ।

 

 

 

प्रतिकृया दिनुहोस