डा केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीचको वार्ता फेरि असफल
१७ दिनदेखि अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच आज भएको वार्ता पनि असफल भएको छ ।
चिकित्साशास्त्र अध्ययन् संस्थानका डिन र त्रिविका उपकुलपतिलाई पदबाट हटाउनु पर्नेे डा केसीको मागमा सरकारी टोलीले छलफल नै गर्न नचाहेपछि वार्ता असफल भएको हो ।
वरिष्ठताका आधारमा मात्रै डिन नियुक्तिको माग राख्दै पटक पटक अनशन बसेका डा केसीले त्रिवि र चिकित्सा शास्त्र अध्ययन संस्थानमा वेथिति निम्त्याएको भन्दै त्रिवि उपकुलपति तीर्थ खनियाँ समेतलाई पदबाट हटाउनु पर्ने माग राख्दै आएका छन् ।
आज अनशनको १७ औं दिन डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको मुटुको चाल अनियमित हुने समस्या बढ्दै गएको चिकित्सक जीवन क्षेत्रीले बताएका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका बेथिति रोक्न माग गर्दै सत्याग्रही डा केसी यसअघि ९ पटकसम्म आमरण अनशनमा बसिसकेका छन् ।
प्रत्येकपटक सरकारसँगको लिखित सम्झौतामा टुंगिने गरेको अनशनपछि सरकारले भने ती सम्झौता कार्यान्वयन नगर्दा समस्याको समाधान हुन सकिरहेको छैन ।
यसैबीच शिक्षण अस्पताल महाराजगञ्जका अावासीय चिकित्सकहरुले डा केसीका मागप्रति सरकारले बेवास्ता गरेको विरोधमा भोलि १५ मंसीरदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवामा सहभागी नहुने निर्णय गरेका छन् ।
अस्पतालमा कार्यरत करिब ३०० आवासीय चिकित्सक सेवामा सहभागी नहुँदा अस्पतालको बहिरंग विभाग र वार्ड समेत सञ्चालनमा असहज अवस्था उत्पन्न हुनेछ ।