अस्ताए वरिष्ठ भाषाविद् शर्म्मा
साहित्यकार तथा नेपाली शब्दसागरका लेखक वसन्तकुमार शर्म्मा नेपालको निधन भएको छ ।
शर्म्माको ९७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको उनका नाति डा विपीन नेपालले बताए । उनी केही समयदेखि अस्वस्थ थिए ।
उनको जन्म वि.सं. १९४० मा काठमाडौंको महाराजगन्जमा भएको थियो ।
शर्म्मा हालसम्मकै सबभन्दा ठूलो नेपाली शब्दकोश नेपाली शब्दसागरका लेखक हुन् । मेक्सिम गोर्कीको चर्चित उपन्यास आमा नेपाली भाषामा अनुवाद गरेका शर्म्माका करीब एक सय कृति प्रकाशित छन् ।
साहित्य, धर्मशास्त्र र राजशास्त्रमा शास्त्री, हिन्दी साहित्यमा साहित्य भूषण, नेपालीमा एमए, बीएड गरेका उनले होमियो डाक्टर उपाधि समेत प्राप्त गरेका थिए ।
नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा बृहद् नेपाली शव्दकोषका सहायक सम्पादक रहेर काम गरेका उनी संक्षिप्त संस्कृत–नेपाली शव्दकोषका सम्पादक समेत थिए ।
उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान गद्यसाहित्य विभाग, विदेशी साहित्यकार सम्पर्क समितिका सचिव र चित्रकला विभागका सहायक सचिवको रूपमा समेत काम गरेका थिए । उनी नेपाल सरकारको पाठ्यक्रम परिमार्जन समितिमा समेत रहेर काम गरेका थिए ।
२००८ मा नेपाली शिक्षा परिषद्का संस्थापक शिक्षक र २०१८ मा रत्नराज्यलक्ष्मी क्याम्पसका संस्थापक सचिव तथा प्राध्यापक भएका शर्म्माले करीब एक दर्जन विद्यालय तथा क्याम्पसमा अध्यापन गरेका थिए ।
‘आमा’ उपन्यासको अनुवादमा रुस सरकारबाट २०१० सालमा पुरस्कृत भएका उनले, शिक्षासेवा नगद पुरस्कार २०२९, वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८, महाकवि देवकोटा शताब्दी सम्मान (२०६६, लगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाएका थिए ।
साहित्यिक कृतिका अलावा उनका वकुश, ज्ञानेश्वरजी, प्रकाश, दाजु, वाणेश्वर, बच्चुराम बाजे, क्षेत्रीबाहुन, आदि उपनामहरूबाट पत्रपत्रिका तथा रेडियोमा लेखहरू प्रकाशन–प्रसारण भएका छन् ।