कला/साहित्यशनिबार, ७ बैशाख , २०७६

भियनामा वैश्विक नेपाली कला

कुन्द दीक्षित

डिना बाङ्देलले तीन वर्षअघि परिकल्पना गरेको नेपालीको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कला प्रदर्शनी अहिले उनकै स्मृतिमा अष्ट्रियाको भियनामा भइरहेको छ।

सबै तस्वीरः भेल्ट मुजेउम

नेपाली कलाको चर्चा हुने वित्तिकै थाङ्का वा काँसले बनेका मूर्ति सबैभन्दा पहिले दिमागमा आउँछन् । आश्चर्य, युरोपको भियनामा रहेको सबैभन्दा ठूलो इथ्नोग्राफिक (मानवजाति विज्ञान सम्बन्धी) संग्रहालयमा भने यतिबेला समकालीन वैश्विक नेपाली कलाको चमक देखिन्छ ।

भियनाको भेल्ट मुजेउम भिनमा अहिले नेपाल बाहिरको सबैभन्दा ठूलो कला प्रदर्शनी भइरहेको छ । ‘नेपाल आर्ट नाउ’ नाम दिइएको यो प्रदर्शनीमा नेपालका ४० कलाकारका १३० वटा चित्रकला, मूर्ति, भिडियो र प्रतिस्थापन कला समावेश छन् ।

“यो प्रदर्शनीले नेपाली कलाकारका सिर्जनशीलता र ऊर्जा झल्काउँछ, साथै पश्चिमा प्रभावबाट कसरी उनीहरूले आफ्ना कला पुनः परिभाषित गरेका छन् भन्ने पनि थाहा पाइन्छ”, भेल्ट संग्रहालयका निर्देशक क्रिश्चियान शिकलग्रुबर भन्छन्, “यसले कसरी स्थानीय, राष्ट्रिय र विश्व कला आपसमा घुलमिल भएका छन् भन्ने पुष्टि पनि गर्छ ।” शिकलग्रुबर प्रदर्शनीका सह–क्युरेटर पनि हुन् ।

शिकलग्रुबर र डिना बाङ्देलले तीन वर्षअघि भियनामा यसखाले बृहत् नेपाली कला प्रदर्शनीको परिकल्पना गरेका थिए । तर, सन् २०१७ मा बाङ्देलको असामयिक निधन भयो । अहिले उनैको सम्झनामा शिकलग्रुबर र नेपाल कला परिषद्की स्वस्ति राजभण्डारी कायस्थले प्रदर्शनीलाई जीवन दिएका छन् । स्वस्ति प्रदर्शनीकी अर्की सह–क्युरेटर हुन् ।

संग्रहालयको तल्लो तलामा नेपाली महिला चित्रकारहरूको मैथिल कलामाथि पनि विशेष प्रस्तुति राखिएको छ । झण्डै तीन दशक अघिदेखि जनकपुरका महिलाहरूले थालेको यो कलालाई क्लेयर बर्केटले संकलन गरेकी हुन् ।

“प्रदर्शनीको सबैभन्दा कठिन काम भनेको ८०० भन्दा बढी कलाकृतिबाट यी कला छनोट गर्नुथियो” कायस्थ सम्झन्छिन्, “छानिएका कला वर्तमान नेपाली कलाका उत्कृष्ट प्रतिनिधि हुन् भन्दा अत्युक्ति हुँदैन ।” भियना पुग्नुअघि यी कलाहरूलाई गएको डिसेम्बरमा काठमाडौंस्थित नेपाल कला परिषद्मा प्रदर्शनी गरिएको थियो ।

 

वास्तवमै, हितमान गुरुङ, सुनिल सिग्देल, संजीव महर्जन, आङछिरिङ शेर्पा, आशा डंगोल, अस्मिना रञ्जित लगायत थुप्रैका कला विश्वस्तरीय लाग्छन्, जहाँ उनीहरूले नेपालका परम्परागत पौभा, काष्ठकला र धातुकलालाई आधुनिक तत्वहरूसँग समिश्रण गराएका छन् ।

‘आधुनिक’ भनेकै ‘पश्चिमा’ भन्ने अर्थ लगाइने गरे तापनि यो प्रदर्शनीमा राखिएका नेपाली कलाले पश्चिमा सजातीयता तोड्दै समकालीन कलाको केन्द्रका रुपमा आफ्नो पहिचान बनाएको छ । परम्परा, सामूहिक राष्ट्रिय इतिहास र विश्वजनिन् प्रभावबाट बेग्लै ‘स्पेश’ पहिल्याएका छन् ।

“तपाईं जब नेपाली कला भन्नुहुन्छ, मानिसहरू उही परम्परागत कलाको अपेक्षा गर्छन् । तर, हामी यो प्रदर्शनीमा समकालीन नेपाली कलाको ज्वलन्त वर्तमान, सिर्जनशीलता, महिलाका काम साथै कलाका विश्वव्यापी र स्थानीय प्रभाव देख्न सक्छौं” संग्रहालयकी महानिर्देशक सबिन हागले ११ अप्रिलमा आयोजित प्रदर्शनी उद्घाटनका क्रममा भनिन्, “जातीय संग्रहालय भएका नाताले पनि भेल्ट म्युजियममै यो प्रदर्शनी हुनुले खास अर्थ राख्छ ।” प्रदर्शनी ६ नोभेम्बरसम्म चल्नेछ ।

यद्यपि प्रदर्शनीमा राखिएका केही कला भने परम्परागत नेपाली संस्कृतिकै झल्को दिने खालका छन् तर यी कलाले आधुनिक शैली अपनाएका छन् । सँगै बहिष्करण, सामाजिक न्याय, लैंगिकता, द्वन्द्व, २०७२ सालको भूकम्प, धर्मको वस्तुकरण, आप्रवासन र वातावरण जस्ता समस्या पनि उठाएका छन् । साँच्चै भन्ने हो भने, अधिकांश कलाले कला र सौन्दर्यबोधका अलावा गहिरोसँग सामाजिक, राजनीतिक टिप्पणी गरिरहेका देखिन्छन् ।

संग्रहालयमा भएको प्रदर्शनीको उद्घाटन समारोहमा हिमालयन कोरटेट ब्याण्डले सांगीतिक प्रस्तुति दिएको थियो । रुपककुमार शाही समुदा नेतृत्वको यो टोलीले नेपाली लोकप्रिय लोकगीतहरूमा पश्चिमा ‘फ्युजन’ सुनाएको थियो ।

भेल्ट म्युजियम भियनाको हेफबर्गमा अवस्थित छ । हाप्स्बर्गस्को शरदकालीन दरबार हेफबर्गकै माथिल्लो तलाबाट सन् १९३८ मा एडोल्फ हिटलरले आञ्चलुस (अष्ट्रिया र जर्मनी एकीकरण) पछि भाषण दिएका थिए ।

त्यसो त नेपालका मन्दिर र सम्पदाहरूमा शताब्दीऔं देखि अज्ञात शिल्पीले काठमा कुँदेका विभिन्न स्वरुप र चित्रहरू छन्, जसलाई अहिले पनि दैवी अवतारका रुपमा पुजिन्छ । यद्यपि समयक्रममा चोरिएर युरोप र अमेरिकाका संग्रहालयमा पुगेपछि भने यसले ‘कला’ को मान्यता पायो । यी ‘कला’ लाई वास्तविक आध्यात्मिक मान्यताबाट अलग पारिएको छ ।

प्रदर्शनीमा सहभागी अधिकांश कलाकारका सिर्जना ‘पश्चिमा’ शैली त्याग्दै वैश्विक भइरहेका छन् र आफ्नो मौलिक व्याकरणको विकासमा लागेका छन् । “आधुनिकतावादमा पेरिस, लण्डन र न्यूयोर्क परम्परागत कलाका केन्द्रहरू थिए” शिकलग्रुबर भन्छन्, “उत्तरआधुनिक युगमा भने अन्य शहरहरू पनि यो विशिष्ट क्लबमा समावेश भएका छन् । काठमाडौं तीमध्ये एक हो ।”

प्रदर्शनीमा रहेका ५० वर्षसम्मका पुराना यी कलाहरू परम्परागत नेपाली कला र पश्चिमी उत्तरआधुनिकतावाद भन्दा फरक छन् । पिकासो, माटिस र वरहलबाट प्रभावित कला पनि देख्न त सकिन्छ, तर तिनमा व्यंग्य प्रतित हुन्छ । जस्तो कि, मोनालिसा मनुजबाबु मिश्रको चर्चित ‘सेल्फी पोटे«्ट’ मा देखिन्छिन् ।

कसैले यस्तो पनि भन्न सक्छ कि नेपाली कलाकारहरू ‘पश्चिम’ बाट नभई ‘अन्तरमहाद्वीप’ विचारबाट प्रभावित छ, जहाँ नेपाली धार्मिक र सांस्कृतिक दृश्यका उपमाहरूले आधुनिक प्रविधि शिल्पकलासँग हात मिलाएका छन् । र, आफ्नो रैथाने कलालाई नयाँ खाले घुमाउरो मोड लिंदै वैश्विक बनाएका छन् ।

चित्रकारका चार पुस्ता

१४औं शताब्दीमा चीनका सम्राट कुब्लाई खाँको दरबारमा अरनिकोलाई निमन्त्रणा दिइए यता नेपाली कलाकारहरू विदेश जाने र नयाँ प्रविधि सिकिरहेका छन् ।

त्यसमा पनि अग्रपंक्तिमा देखिन्छन्, काठमाडौंका चित्रकारहरू । १९औं शताब्दीको मध्यमा नेपालका लागि बेलायती रेजिडेन्ट प्रकृतिवादी ब्रायन हड्सनका लागि चित्र बनाउने काममा खटिएका राजमान चित्रकार हुन् या सन् १८५० मा जंगबहादुर राणाको बेलायत भ्रमणका क्रममा सहभागी भाजुमान चित्रकार ।

१९०८ मा चन्द्रशमशेरले बेलायत भ्रमण गर्दा पनि अर्का चित्रकार दीर्घमान चित्रकार साथमै थिए ।

चित्रकलामा नेवारी समुदायका चित्रकारहरूको लस्कर लामो छ । पछिल्लो समय तेज बि चित्रकार र लोक चित्रकार नै हेरौं । लोकको बसुधाराको पौभा पनि भियनाको प्रदर्शनीमा राखिएको छ ।

भेल्टमा भव्य नेपाली कलाको प्रदर्शनी चलिरहेका बेला भियनाकै युनिभर्सिटी अफ अप्लाइड आर्टस्मा चार पुस्ताका चित्रकारहरूको तस्वीरहरूको प्रदर्शनी भएको थियो । १२ अप्रिलमा सकिएको यो प्रदर्शनीमा दीर्घमान चित्रकार, गणेशमान चित्रकार, किरणमान चित्रकार र स्वराजमान चित्रकारका तस्वीरहरू समावेश थिए ।

प्रतिकृया दिनुहोस