रिपोर्टशनिबार, ७ बैशाख , २०७६

जब्बर जनस्वास्थ्यकर्मी

रामु सापकोटा

स्वास्थ्य क्षेत्रको अनुसन्धानमा होमिएकी डा. अर्चना श्रेष्ठ अनुसन्धानका नतिजालाई अधिकतम जीवनोपयोगी बनाउन समेत क्रियाशील छिन्। 

डा. अर्चना श्रेष्ठ

देशको चिकित्सा क्षेत्रमा धेरै महिलाले कार्यकुशलता देखाउँदै आफूलाई अब्बल सावित गरेका छन् ।

इपिडिमियोलोजी (महामारी विज्ञान) मा विद्यावारिधि गरेकी डा.अर्चना श्रेष्ठ (३७) जनस्वास्थ्य क्षेत्रकी ती फरक पात्र हुन्, जसले स्वास्थ्य क्षेत्रको मिहिन अनुसन्धान गरी त्यसलाई समुदायमा बढीभन्दा बढी उपयोगमा कसरी ल्याउने भन्नेबारे एक दशकयता निरन्तर काम गर्दै आएकी छन् । 

हालसम्म स्वास्थ्य सम्बन्धी १८ अनुसन्धान प्रतिवेदन प्रकाशित गरेकी अर्चना सन् २०१८ अप्रिलदेखि काभ्रेको धुलिखेल अस्पतालमा डाइरेक्टर फर ट्रान्सनेसनल रिसर्च पदमा कार्यरत छिन् । अस्पताल मार्फत उनी विभिन्न विषयका १६ जना फेलोको नेतृत्व गर्दै देशको समग्र स्वास्थ्य नीति र कार्यक्रमबारे अनुसन्धान गरिरहेकी छन् ।

नेपाली खाना र स्वास्थ्यलाई जोडेर देशभित्र कुनै पनि अनुसन्धान नभएको समयमा अर्चनाले स्नातक अध्ययनका क्रममा यसबारे अनुसन्धान गरिन् ।

नेपाली खानाले मधुमेह, मोटोपन र उच्च रक्तचाप बढाउन कस्तो असर गरेको छ भन्नेबारे गरिएको अनुसन्धानले सेतो भात र मासु धेरै खाने व्यक्तिको स्वास्थ्यमा नराम्रो असर पर्ने देखाएको थियो ।

अध्ययनको नतिजाका आधारमा अमेरिकाको हार्वर्ड विश्वविद्यालय मार्फत सन् २०१६ मा उनले गरेको अनुसन्धानबाट खैरो भातले स्वास्थ्यमा हानि नगर्ने निष्कर्ष आयो ।

उनको करिअरलाई नजिकबाट नियालिरहेका धुलिखेल अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रम विभाग प्रमुख डा.विराज कर्माचार्य भन्छन्, “डा.अर्चना नेपालको जनस्वास्थ्य क्षेत्रकै रोल मोडल हुन् ।”

सन् २०१० मा अमेरिकी सरकारले प्रदान गर्ने ‘फुलब्राइट’ कार्यक्रममा छनोट भएकी उनले युनिभर्सिटी अफ वासिङ्टन मा जनस्वास्थ्य, इपिडिमियोलोजी र अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातक गरिन् ।

सन् २०१५ मा विद्यावारिधि गरेकी अर्चनाले आर्थिक अभावसँग जुध्दै, परिवार र समाजले छोरीका लागि कोरेको घेरा तोड्दै यहाँसम्मको फड्को मारेकी हुन् ।

त्यो ‘जिद्दी केटी’

सन् २००४ मा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानको महाराजगञ्ज क्याम्पसबाट जनस्वास्थ्य विषयमा स्नातक गरेपछि ज्ञानेश्वर, काठमाडौं घर भएकी अर्चनालाई मोफसलको जिल्लामा गएर काम गर्न मन लाग्यो ।

तर, उनको चाहनामा परिवार नै बाधक बनिदियो । अभिभावकमा ‘छोरी मान्छे एक्लै घर बाहिर जानुहुँदैन’ भन्ने मान्यता थियो । “तर आफूलाई सही लागेको काम गरेरै छाड्ने मेरो हुटहुटी र जिद्दीको अगाडि बुवा–ममीको जोर चलेन”, उनी सम्झिन्छिन् ।

स्नातक तहको अध्ययन पूरा गरेपछि अर्चना एक महीना घुम्ने बहाना गरेर तेह्रथुमको म्याङलुङ पुगिन् । त्यो यात्रा नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

२१ वर्षको उमेरमा त्यहाँ उनले सशस्त्र विद्रोहकालको त्रासदीबीच एक गैरसरकारी संस्था मार्फत सेफ मदर हुड अफिसर को रूपमा जिल्लाका स्वास्थ्यकर्मीहरूसँग मिलेर काम थालिन् । दुई वर्ष म्याङलुङमा काम गर्ने क्रममा उनले त्यहाँ स्वास्थ्य सुधारको जग बसाइन् ।

सुत्केरी गराउँदा निम्तिन सक्ने जोखिम घटाउन स्वास्थ्यकर्मीलाई तालिम दिइन् । तेह्रथुम छाडेपछि उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २००७ मा जनस्वास्थ्य विषयमा स्नातकोत्तर पूरा गरिन् ।

घरको आर्थिक अवस्था जर्जर हुँदा स्नातक र स्नातकोत्तर तह ऋण लिएर पढेकी अर्चना भन्छिन्, “पढ्न लिएको रु.४ लाख ऋण कमाएर तिरें ।”

स्नातकोत्तर सकेपछि उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मार्फत ४२ जिल्ला घुमेर सरकारी अस्पतालहरूमा गरिएको फोहोर व्यवस्थापनबारे अनुसन्धान गरिन् । उक्त अनुसन्धानपछि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालमा फोहोर व्यवस्थापन सम्बन्धी नीति बनायो । 

विद्यालय शिक्षाका क्रममा उनका धेरै साथीले परिवारको दबाबमा विवाह गरेर बीचमै पढाइ छाडे, उनले भने अध्ययनसँगै कामको रफ्तार बढाइरहिन् ।

“आफ्नो अठोट र कामप्रतिको लगावका कारण परिवार र समाजले बनाएको घेरा तोड्न सकें” सन् २०११ मा विवाह गरेकी अर्चना भन्छिन्, “आफ्नो शिक्षा र स्वास्थ्यको अधिकारका लागि महिलाहरू आफैं अघि सर्नुपर्छ ।”

पढ्नुहाेस्:

दासता विरुद्धको लडाइँ 

स्वाभिमान सिकाउँदै 

प्रेरणाकी पुञ्ज

अठोट नै शक्ति

भुइँमान्छेकी कथाकार

दृश्यकी भाष्यकार

विद्रोहले बनेको व्यक्तित्व

पर्वतारोहणकी सरदार

चुपचाप ‘रोल मोडल’

समावेशी सुन्दरी

‘परनिर्भरताले दास बनाउँछ’

‘साम्बा’ को संघर्ष

प्रतिरोध कला 

प्रतिकृया दिनुहोस