रिपोर्टशनिबार, ७ बैशाख , २०७६

प्रतिरोध कला

गोपाल गडतौला

महिलामाथिका यौन हिंसालाई रंगकर्मको माध्यमबाट मुखरित गर्दै महिला स्वयंलाई पनि ब्युँझाउने काममा यी रंगकर्मीको अभियान प्रशंसनीय छ।

हरेक दिनजसो बलात्कारका घटना सुन्नु पर्दा आकांक्षा कार्की (२८) को मनमा हुण्डरी चल्थ्यो । के महिलाको शरीर पुरुषको उपभोगको निजी साधन हो ? के यौन केवल पुरुषको इच्छा र आवश्यकताले निर्धारण गर्ने कर्म हो ? यस्ता प्रश्नहरूले उनको दिमाग बेस्कन हल्लिन्थ्यो । 

जवाफ खोज्दै जाँदा उनले ‘पितृसत्तात्मक पूँजीवाद’ लाई कारण देखिन् । यस्तो पितृसत्तात्मक पूँजीवाद जसले महिलाको जन्म नै पुरुषको सहायता र सहुलियतका लागि भएको ठान्छ । अनि, पुरुषले त्यस्तो सहुलियत प्राप्तिलाई जन्मजात अधिकार ठान्छ ।

उनले खुट्याउन थालिन्– महिलालाई समाजले सुन्दर, दयालु, भोग्य, दानशील, मिहिनेती, कमजोर आदि बनाएको छ । र यसकै आडमा शोषण चलिरहेको छ ।

यो बुझाइ नयाँ थिएन । तर, बुझ्ने आकांक्षा चाहिं नयाँ थिइन् । त्यसैले उनी यो समस्याको हल कसरी खोज्न सकिन्छ भनेर घोत्लिन थालिन् । त्यसैको जन्म हो– भजाइना मोनोलग्स (योनीका कथाहरू) नाट्य शृंखला, जसको नयाँ शृंखला वैशाखमा हुँदैछ ।

२०७२ सालमा आकांक्षा र साथी गुञ्जन दीक्षितले ‘कथा घेरा’ संस्था मार्फत थालेको योनीका कथाहरू एउटा आत्मसंवाद हो । जहाँ शुरूमा सामान्य मूडमा रहेकी कलाकार आफूले भोगेका यौनजन्य दुव्र्यवहारका घटना मसिनोसँग सम्झिदै जान्छन् ।

खासमा यो तरिका महिलालाई आफ्नो यौनिक अधिकार बुझाउँदै ब्युँझाउने कलापूर्ण काइदा हो । सात दशकअघि अमेरिकी अधिकारकर्मी तथा लेखिका इभ एन्सलरले भजाइना मोनोलग शीर्षकमा यस्तो अभियानको थालनी गरेकी थिइन् ।

योनीका कथा स्वयं आकांक्षाको पनि कथा हो । भारतको बैंगलोरमा पढ्दा अटोबाट ओर्लिन लाग्दा चालकले उसको यौनाङ्ग देखाएको, बाल्यकालमा शिक्षकले असजिलो लाग्ने गरी ढाडमा छोएको, मन नलाग्दा नलाग्दै पुरुष सहकर्मीले अंकमाल गरेको, घुरेर अनुहार र वक्षस्थलमा हेरिरहेको जस्ता नभनिएका कैयौं घटना उनलाई ताजै छ । “यस्ता हरेक घटनाबाट बच्नु महिलाका लागि नियमित युद्ध जस्तै हुन्छन्”, उनी भन्छिन् ।

नयाँ वर्षको योनीका कथाहरू मा सामूहिक अभिनयबाट अभिव्यक्त गर्ने तयारी भइरहेको छ । ‘प्राइभेट इज पोलिटिक्स’ यसको विषय हो । यसको अर्थ महिलाको शरीरलाई निजी ठान्ने पितृसत्तात्मक मनोविज्ञानले महिलामाथि गरेको राजनीति भएको आकांक्षा अर्थ्याउँछिन् ।

नाटकमा कलाकारहरूले आफ्ना अप्रिय भोगाइ स्वाभाविक शैलीमा व्यक्त गर्नेछन्, जसलाई उनीहरूले घर, कक्षाकोठा, अस्पताल, सडक, चमेनागृह, विवाहमण्डप जहींतहीं दिनहुँजसो सामना गरिरहेका हुन्छन् । “तर, सामाजिक अवस्थाका कारण महिलाले प्रतिवाद गरेका घटना कमै सुनिन्छ”, उनको भनाइ छ ।

त्यसो त पश्चिमी समाजमा शुरू भएर भारत हुँदै नेपाल आएको यौन दुव्र्यवहार विरुद्धको मिटु अभियानमा आकांक्षा पनि खुलेर आइन् । उनले नाटकको अभ्यासका क्रममा नाम चलेका एक निर्देशकले आफूलाई दुव्र्यवहार गर्न खोजेको सामाजिक सञ्जालमा लेखिन् । उनको त्यो आँटलाई सराहना गर्ने धेरै थिए ।

“दुव्र्यवहार सहनु भनेको अरू दुव्र्यवहारका लागि चाहिने वातावरण बनाइदिनु हो” आकांक्षा भन्छिन्, “त्यसैले पनि आफ्नो सकसबारे खुलौं, हरेक अनिच्छित छुवाइ विरुद्ध औंला ठड्याऔं, हुन्न भनौं ।”

पढ्नुहाेस्:

दासता विरुद्धको लडाइँ 

स्वाभिमान सिकाउँदै 

प्रेरणाकी पुञ्ज

अठोट नै शक्ति

भुइँमान्छेकी कथाकार

दृश्यकी भाष्यकार

विद्रोहले बनेको व्यक्तित्व

पर्वतारोहणकी सरदार

चुपचाप ‘रोल मोडल’

समावेशी सुन्दरी

‘परनिर्भरताले दास बनाउँछ’

‘साम्बा’ को संघर्ष

प्रतिकृया दिनुहोस