समाचारशनिबार, ७ बैशाख , २०७६

२८ जना बालकको भारतबाट उद्धार

रासस

महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ ।

भारतको बिहारस्थित सीतामढी शहरका विभिन्न बाल आश्रमबाट उनीहरुलाई उद्धार गरीएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

१४ चैतमा सीतामढी नाका हुँदै बालमजदुरको रुपमा चेन्नई लैजाँदै गर्दा सीतामढी प्रशासनले नियन्त्रणमा लिएको थियो ।

ती बालकहरुलाई सीतामढी प्रशासनले महोत्तरी सीमानाका भिट्ठामोडमा ल्याई नेपाललाई हस्तान्तरण गरेको थियो ।

उद्धार गरिएका बालहरुमध्ये महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना छन् ।

१५ देखि १७ वर्ष उमेरका ती बालकमध्ये २३ जना दलित समुदायका, चार जना यादव र एक जना मुस्लिम समुदायका रहेको प्रशासनले जनाएको छ ।

उनीहरुलाई पहिचान खुल्ने प्रमाणपत्र र वडा कार्यालयको सिफारिश सहित आउने अभिभावकको जिम्मा लगाइने प्रजिअ ढकालले बताए ।

प्रतिकृया दिनुहोस