४९ पीसकोर स्वयंसेवकद्वारा शपथ ग्रहण
नेपालमा आफ्नो सेवा सुरु गर्नुअघि ४९ जना पीसकोर स्वयंसेवकले शपथ ग्रहण गरेका छन् । अमेरिकी राजदूत र्यान्डी डब्लु बेरी तथा पीसकोरका नेपाल निर्देशक शेरी रस्सेलबाट उनीहरूले शपथ लिएका हुन् ।
सन् १९६२ यता नेपालमा आई सेवा पुर्याइसकेका ३,८०० भन्दा बढी स्वयंसेवक र विश्वरभरका ६५ देशमा सेवारत ७,२०० भन्दा बढी पीसकोर स्वयंसेवकहरूको सूचीमा यी नयाँ स्वयंसेवकहरू सामेल भएका छन् ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल प्रमुख अतिथि थिए ।
“ग्रामीण क्षेत्रमा सीमान्तकृत जनसंख्यासँगै कार्यरत पीसकोर स्वयंसेवकका रूपमा तपाईंहरूले अमेरिकाले गर्नसक्ने असल कामका साथै अमेरिकी जनता र हाम्रो संस्कृति तथा मूल्यबारे नेपालीहरूको बुझाइका सम्बन्धमा ठूलो प्रभाव पार्नुहुनेछ,” राजदूत बेरीले कार्यक्रममा भने ।
फेब्रुअरी २०१९ मा नेपाल आइपुगेका ४९ जना पीसकोर स्वयंसेवकले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा ११ हप्ते सघन भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक तालिम पूरा गरेका छन् ।
सरकारी विद्यालयहरूमा अंग्र्रेजी भाषा अध्यापन गर्नुका साथै खाद्य सुरक्षा, युवा विकास तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नका लागि यी स्वयंसेवकहरूलाई प्रदेश नं. ३ देखि ७ सम्मका १० जिल्लामा खटाइएको छ ।
यस पटकका स्वयंसेवकहरूको समूहमा शिक्षा मन्त्रालयको आग्रहमा अंग्र्रेजी पढाउन आएका स्वयंसेवकहरू समेत समावेश छन् । सन् २००४ यता नेपालमा अंग्र्रेजी पढाउन आउने पीसकोर स्वयंसेवकहरूको यो पहिलो समूह हो ।
दूतावासका अनुसार, सन् १९६१ मा स्थापना भएदेखि नै पीसकोर विश्व शान्ति तथा मित्रता तथा विश्वभरमा विकासलाई अगाडि बढाउने र अन्तरसांस्कृतिक समझदारी निर्माण गर्ने कार्य गर्दछ । अन्य मुलुकहरूलाई आर्थिक सहायता उपलब्ध गराउनुको सट्टा यस संस्थाले त्यहाँ स्वयंसेवकहरू पठाउने गरेको छ ।
सन् १९६१ यता अमेरिकाले दुई लाख २० हजारभन्दा बढी स्वयंसेवकले १४० देशमा पठाइसकेकाे छ।