समाचारशुक्रबार, ६ बैशाख , २०७६

बर्दघाटको जग्गा बेचेर बालुवाटारमा किनेको विष्णु पौडेलको प्रष्टीकरण

छानबिनप्रति पूर्ण समर्थन : पौडेल

हिमालखबर

नेकपाका महासचिव विष्णु पौडेलले बर्दघाटमा रहेको आफ्नो जग्गा बेचेर बालुवाटारमा किनेको प्रष्टीकरण दिएका छन् ।

महासचिव पौडेलले शुक्रबार एक प्रेस वक्तव्य जारी गरी उक्त कुरा बताएका हुन् ।

 बालुवाटार जग्गा विवादपछि महासचिव पौडेलको यो दोस्रो वक्तव्य बाहिर आएको हो ।

प्रेस वक्तव्यमा महासचिव पौडेलले २०६१ सालमा बर्दघाटको ८ कट्ठा जग्गा बेचेर बालुवाटारमा जग्गा किनेको उल्लेख गरेका छन् ।

पौडेलले गैरकानूनी रूपले सरकारी जग्गा व्यक्तिका नाममा गएका जग्गालाई दर्ताबदर गरी सरकारकै नाममा ल्याउने वर्तमान सरकारको नीतिलाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महासचिव पौडेलले बालुवाटारमा रहेको कित्ता नं ३०९ बारे प्रकाशित समाचारहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू सरकारी जग्गा हडप्ने वा किर्ते गर्ने कार्यमा संलग्नता नरहेको र परिवारका सदस्यबाट पनि त्यस्तो कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नभएको र कहिल्यै नहुने स्पष्ट पारेका छन् ।

प्रेस वक्तव्यमा २०६१ साल पुस २९ गते कामनपा वडा नं ४ बालुवाटारको ८ आना जग्गाको दर्ता स्रेस्ता उमा ढकाल र माधवी सुवेदीको नाममा रहेको र पछि छोरा नवीन पौडेलको नाममा पास गरिदिएको उल्लेख गरेका छन् ।

२०६१ असोज २४ गते नवलपरासीको बर्दघाटमा श्रीमतीको नाममा रहेको ८ कट्ठा जग्गा बिक्री गरी त्यही स्रोतबाट बालुवाटारमा किनेको विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यस बेला आफू सांसद, मन्त्री वा कुनै तहको प्रतिनिधि नरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आफू मन्त्री वा सांसद हुँदा पनि बालुवाटारको उक्त ८ कट्ठा जगाको बारेमा उल्लेख गरेको प्रेस वक्तव्यमा पौडेलले उल्लेख गरेका छन् ।

जग्गा विवादबारे पौडेलले यथाशीघ्र छानबिनको माग पनि गरेका छन् । राज्यको आधिकारिक निकायबाट हुने छानबिनप्रति आफ्नो पूर्ण समर्थन रहने पनि वक्तव्यमा उल्लेख गरेका छन् ।

 

प्रतिकृया दिनुहोस