रिपोर्टशनिबार, ७ बैशाख , २०७६

दासता विरुद्धको लडाइँ

रमेशकुमार

बालवय घरेलु मजदूरका रूपमा बिताएकी उर्मिला चौधरीलाई कम्लरी मुक्ति अभियानप्रतिको अविचलित प्रतिबद्धताले प्रेरणाको पात्र बनाएको छ। 

उर्मिला चौधरी ।

कम्लरी मुक्ति अभियन्ता दाङकी उर्मिला चौधरीको चर्चा त्यतिबेला चुलियो जब पूर्व कम्लरी उनले रुजभेल्ट फाउण्डेसन, नेदरल्याण्ड्सबाट अन्तर्राष्ट्रिय लरियट फ्रिडम फ्रम फियर अवार्ड– २०१८ प्राप्त गरिन् । २०६४ सालदेखि कम्लरी मुक्तिको लडाइँमा होमिएकी उर्मिलाको कार्यक्षेत्र भने यतिमा मात्र सीमित छैन । 

६ वर्षको उमेरमा दाङबाट काठमाडौं ल्याइएकी थिइन् उर्मिला, काठमाडौंको एउटा सम्भ्रान्त परिवारमा कम्लरीका रूपमा । १२ वर्षसम्म त्यही घरमा बाल मजदूरी गरेकी उनले कमैया–मुक्ति आन्दोलनका क्रममा काठमाडौं आइपुगेका आफ्नै दाइलाई टेलिभिजन समाचारमा झुलुक्क देखेपछि भने परिवारसँग टुटेको सम्पर्क जोड्न सकिन् । र, अनेकौं उपायपछि घरेलु कामदारको बर्को च्यातेर २०६३ माघमा दाङ फर्किइन् ।

२०६२/६३ को आन्दोलनले ल्याएको लोकतान्त्रिक उभारसँगै कम्लरी मुक्तिको आन्दोलन पनि चर्किएको थियो, त्यसबेला । भर्खरै खुला आकाश महसूस गर्न पाएकी उर्मिला पनि आन्दोलनमा जोडिइन् ।

“मैले स्कूल जानुपर्ने समय मजदूरी गरेरै विताउनु पर्‍यो, त्यसैले मेरो जस्तो अवस्था अरू बालिकाहरूको नहोओस् भनेर अधिकारका पक्षमा उभिएकी हुँ”, चौधरी भन्छिन् । शुरूमा दाङका केही गाउँबाट शुरू कम्लरी मुक्ति आन्दोलनको रापताप चढिरहेका बखत उर्मिला जुझारु अभियन्ताका रूपमा सक्रिय मात्र बनिनन्, अधिकारको लडाईंलाई अझ व्यापक क्षेत्रमा विस्तार गरिन् ।

१८ वर्षकी हुँदासम्म विद्यालय नटेकेकी उर्मिला कम्लरी मुक्तिको आन्दोलनमा सहभागी हुन थाल्दासम्म आफैंले बोकेका प्लेकार्ड र तुलमा लेखिएका शब्द ठम्याउन सक्दिनथिन् । उनी भन्छिन्, “त्यसपछि निकै प्रयास गरेर नाम लेख्न सिकें ।” साउँ अक्षर चिनिसकेपछि कक्षा ५ मा भर्ना भएर औपचारिक अध्ययन थालेकी उर्मिलाले २०७१ मा एसएलसी परीक्षा उत्तीर्ण गरिन् ।

नाम लेख्न सिक्ने हुटहुटीबाट शुरू भएको उनको औपचारिक शिक्षाको यात्रा अहिले कक्षा १२ सम्म पुगेको छ, जसलाई उनी अझै माथिसम्म पुर्‍याउने अठोटमा छिन् ।

थारू समुदायको कम्लरी प्रथा उन्मूलन अभियानमा सक्रियता र बालिका शिक्षाका पक्षमा वकालत गरेबापत रुजभेल्ट फाउण्डेसन, नेदरल्याण्ड्सबाट अन्तर्राष्ट्रिय लरियट फ्रिडम फ्रम फियर अवार्ड– २०१८ प्राप्त गरेकी उर्मिलाले अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू पनि पाएकी छिन् ।

फाउण्डेसनले उर्मिलालाई ‘कम्लरी जस्तो बाल दासताको प्रथा अन्त्य गर्न र बालिका शिक्षाको अधिकारका लागि प्रतिबद्ध’ भएकाले पुरस्कृत गरिएको उल्लेख गरेको छ । मलाला युसुफजाई, आनसाङ सुची, एन्जेला मर्केल जस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वले पाएको यो अवार्ड पाउने उर्मिला एक्ली नेपाली हुन् । उनले अभियन्ताका रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा पुगेर पनि बालबालिकाको स्वतन्त्रता र अधिकारको पक्षमा आवाज उठाएकी छन् ।

उर्मिला पछिल्लो समय राष्ट्रिय–अन्तर्राष्ट्रिय ‘लाइमलाइट’ मा छिन् । यद्यपि, उनीभन्दा अगाडि र उनीसँगै कैयौं साहसी र प्रभावशाली अभियन्ताहरूले यो अभियानको नेतृत्व गर्दै, उर्मिलालाई साथ दिंदै आएका छन् ।

त्यस्तै कम्लरीहरूको पक्षमा काम गर्ने संस्थाहरूको पनि महत्वपूर्ण भूमिका छ । यस्तै संस्था र अभियानकर्मी सहभागी आन्दोलनको लहरमा सक्रिय हुँदै अगाडि आएकी हुन्– उर्मिला, जसले हजारौं कम्लरीलाई जुगौं पुरानो दासत्वको बन्धनबाट निस्किएर खुला मैदानमा पाइला राख्न सिकाएको छ ।

मुक्त कम्लरी स्वतन्त्रता अभियानकै कारण करीब १२ हजार कम्लरीहरू मुक्त भएका छन् । सानैदेखि अर्काको घरमा मजदूरको रूपमा काम गर्न बाध्य उर्मिलाहरूले चलाएको आन्दोलनको बलमा नेपाल सरकारले १३ असार, २०७० मा कम्लरी मुक्तिको घोषणा गरेको छ ।

मुक्त कम्लरी विकास मञ्चको पूर्व अध्यक्ष समेत रहेकी उर्मिलाको अभियानको क्षेत्र विस्तार हुँदै अहिले मुक्त कम्लरीहरूको जीविकोपार्जन, बालअधिकार र महिला स्वतन्त्रतासम्म पुगेको छ । सामुदायिक जागरुकता, क्षमता विकास तथा जनचेतना अभिवृद्धि कार्यक्रमका लागि पनि उनी प्रयत्नशील छिन् ।

कम्लरी मुक्ति अभियानको प्रभावकारिताबाट उत्साही उर्मिला पूर्व कम्लरीहरूको जीवनयापन नसुध्रिएकोमा भने चिन्तित छन् । उनी भन्छिन्, “पूर्व कम्लरीलाई शिक्षामा छात्रवृत्ति, बेपत्ता कम्लरीको खोजी, अविवाहित आमा बनेका कम्लरीलाई न्याय लगायतमा सरकारले गरेको सम्झौता कार्यान्वयन भएको छैन, त्यो पाटोमा अझै धेरै गर्न बाँकी छ ।”

पढ्नुहाेस्:

स्वाभिमान सिकाउँदै

प्रेरणाकी पुञ्ज

अठोट नै शक्ति

भुइँमान्छेकी कथाकार

दृश्यकी भाष्यकार

विद्रोहले बनेको व्यक्तित्व

पर्वतारोहणकी सरदार

चुपचाप ‘रोल मोडल’

प्रतिकृया दिनुहोस