ब्लगशुक्रबार, ६ बैशाख , २०७६

राष्ट्रकवि घिमिरे घरबाट भाग्दा

भैरव रिसाल

माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए।

१९९३ सालमा १७ वर्षे पट्ठो थिए आजका राष्ट्रकवि माधवप्रसाद घिमिरे । त्यसै वर्षको जेठ महीनामा उनी लमजुङको पुस्तुन बाहुनडाँडास्थित घरबाट भागेर नेपाल खाल्डो, काठमाडौं हिंडेछन् ।

हिंड्नुअघि घरको सन्दुसबाट सुटुक्क सात मोहोर निकालेर खुदीबेनीका पसले कालीप्रसाद श्रेष्ठ (हाकुचा) को साथ लागेछन् । खुदीबेनी घिमिरेजीको ससुराली गाउँ थियो, जहाँ उनी भाषा पाठशालामा बद्रीनाथ सुवेदीसँग पढ्थे । त्यतिबेला उनको विवाह भइसकेको थियो । 

घिमिरेजी काठमाडौं आउनुमा विद्वान् गुरुहरूसँग पढ्ने उद्देश्य थियो । बाबुआमाको एक्लो छोरो घरमा ‘नेपाल’ जान लागेको बताए पीर गर्लान् र रोक्लान् भनेर खुसुक्क हिंडेका थिए ।

घिमिरेले संस्कृत माध्यमिक विद्यालय, रानीपोखरीको वार्षिक मुखपत्र, २०६७ मा श्रीमती (गौरी) को गरगहनाको प्रसंग जोड्दै घरबाट भागेको स्मृति लेखेका छन्, “एक दिन दिउँसो तलामा सुटुक्क उक्लिएँ सन्दुसको साँचो बोकेर । सन्दुस खोलें । सात मोहोर नगद, श्रीमतीका श्रीफूल र कल्ली त्यहीं रहेछन् । ती चीजको अघोर माया लाग्यो । श्रीफूल र कल्ली त्यहीं छोडेर सात मोहोर झिकें ।”

१९९३ सालतिर भातभान्छामा छूतछातको नियम असाध्यै कडा थियो । घिमिरेजी ब्राह्मण भएकाले कडा जातपात प्रथा अनुसार बाटोमा आफैंले भात पकाएछन् र हाकुचालाई पनि ख्वाएछन् ।

सोह्रखुट्टे पाटीको बास
आजभन्दा ८२ वर्षअघि लमजुङबाट काठमाडौं आउँदा घिमिरेजीका आफन्त र नातेदार यहाँ कोही थिएनन् । राति कुन बेला आइपुगे, उनले सोह्रखुट्टे पाटीनिरको अर्को पाटीमा सुतेर रात काटेछन् । पश्चिम नेपालतिरबाट बालाजु भएर काठमाडौं आउनेहरू प्रायः त्यही पाटीमा बास बस्थे ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे । तस्वीरः मीनरत्न बज्राचार्य

घिमिरेजीले मुखपत्रमा लेखेका छन्, “... तार्कुघाटबाट मस्र्याङ्दी तर्‍यौं । गोरखा दरबारको तल्लो छेउछाउ हुँदै धादिङ, त्रिशूली, बर्वन्दीको उकालो नाघ्यौं, सोह्रखुट्टे पाटी आइपुग्यौं । त्यसैको छेउमा रहेको अर्को पाटीमा त्यो रात बितायौं ।”

भोलिपल्ट उठेर हेर्दा प्रशस्तै घर र कमिज–सुरुवाल, जुत्ता लगाएका मानिसहरू बाटोमा देखेपछि गाउँबाट आएका घिमिरेजी चकित भएछन् । त्यतिबेला मोहोर (५० पैसा) को मूल्य कति हुँदो हो !

सात मोहोर अर्थात् तीन रुपैयाँ ५० पैसाबाट उनले काठमाडौंमा के कसरी गुजारा गरे होलान् ! तिनताका तिनन्नी (१२ पैसा), सुकी (२५ पैसा), मोहोर (५० पैसा), रुपैयाँ (सय पैसा) चाँदीमा टकमारी हुन्थ्यो । एक रुपैयाँ भनेको एक तोला चाँदीमा टकमारी गरिएको हुन्थ्यो । घिमिरेजीले काठमाडौंको संस्कृत पाठशालाबाट विद्यालय शिक्षा पूरा गरे । त्यसपछि भारतको बनारसबाट उच्च शिक्षा हासिल गरे ।

शिक्षाको इतिहास
राष्ट्रकविको जन्म (७ असोज १९७६) को आसपास राणा शासनकालमा शिक्षा सर्वसुलभ थिएन । झन राम्रो शिक्षा लिने ठाउँ दुर्लभ कुरा थियो । राम्रो शिक्षाकै खोजीमा घिमिरेजी त्यसबेला लमजुङबाट काठमाडौं आएका थिए ।

केही वर्षअघि काठमाडौंमा आयोजित साहित्य चर्चाको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट राष्ट्रकवि घिमिरेजी भन्दैथिए, “म त्यस्तो बेला जन्मिएको हुँ, जुन बेला पाठशाला खोल्दा थुनामा पर्नुपथ्र्यो ।”

देशमा शिक्षाको नालीबेली खोज्दा १६५ वर्षअघि सम्मको मात्र पत्ता लाग्छ । मल्ल शासन अघि र पछि पनि शिक्षा थियो होला । संगठित र औपचारिक शिक्षण पद्धति शुरू हुनुअघि ठाउँठाउँमा गुरुकुलहरूबाट शिक्षा आदानप्रदान हुन्थ्यो ।

वि.सं. १९१० मा प्रधानमन्त्री जंगबहादुर कुँवर राणाले थापाथली दरबारमा विद्यालय स्थापना गरेपछि संगठित शिक्षा शुरू भएको हो । त्यसको २४ वर्षपछि वि.सं. १९३४ मा राजकीय संस्कृत प्रधान पाठशाला स्थापना भयो ।

त्यसपछि वि.सं. १९४३ मा धीरशमशेर र वीरशमशेरले धार्मिक र प्रायश्चितको भावनाबाट प्रेरित भएर तीनधारा पाकशाला स्थापना गरे । हाम्रा केही विद्वान् मनीषीले पनि तीनधारा पाकशालामा बसी संस्कृत प्रधान पाठशालामा पढेका थिए ।

त्यसरी पढ्नेमा कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माघव घिमिरे, राजेश्वर देवकोटा, पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, गोकर्णराज शास्त्री लगायत कैयौं व्यक्ति छन् ।

प्रतिकृया दिनुहोस