रिपोर्टशुक्रबार, ६ बैशाख , २०७६

स्वाभिमान सिकाउँदै

विनय बञ्जारा

१२ वर्षअघि आँखाको ज्योति गुमाएकी सृष्टि केसी जीवनलाई उत्सवपूर्ण बनाउन अपांगता तगारो हुँदैन भन्ने मान्यता स्थापित गर्दैछिन्।

सृष्टि केसी ।

बीएमडब्ल्यू ब्राण्डको आर नाइन रेसर मोटरसाइकलमा चढेको तस्वीर ६ चैतमा फेसबूकमा अपलोड गर्दै सृष्टि केसीले लेखिन्– ‘डू यू वाना टेक अ राइड वीथ मी ?’ त्यसको एक महीनाअघि उनी १२ जना दृष्टिविहीन साथीहरूसँगै र्‍याम्पमा उत्रिएकी थिइन्– साथमा थिइन् पूर्व मिस–नेपाल निकिता चाण्डक । 

किशोरी अवस्थामै दृष्टि गुमाएकी सृष्टि धेरैका लागि ‘रोल मोडल’ हुन् । अहिले उनको सम्पूर्ण प्रयास जीवनलाई उत्सवपूर्ण बनाउँदै अघि बढ्नका लागि दृष्टिविहीनता अवरोध होइन भन्ने सोच स्थापित गराउनतर्फ केन्द्रित छ ।

उनी भन्छिन्, “अपांगता भन्नेवित्तिकै निश्चित दायरामा सीमित गराउने कोशिश हुन्छ– तिमी योभन्दा बढी सक्दैनौ भन्दै । परनिर्भरतातर्फ धकेल्ने यस्तो प्रयासले हामीलाई सामान्य मानिस जस्तै समान र मर्यादित जीवन बाँच्न दिइरहेको छैन ।”

सृष्टिको संस्था ब्लाइण्ड रक्स ले दृष्टिविहीनहरूलाई व्यक्तित्व विकास, नृत्य, ननभर्बल कम्युनिकेशनदेखि फेशन शोसम्मका तालिम र प्रतियोगितामा समेट्दै आएको छ । समाजले जुन काम दृष्टिविहीनहरूले गर्न सक्दैनन् भन्ने ठानिरहेको छ, उनी त्यही काम गरेर देखाउँदैछिन् ।

२० राष्ट्रका १०० भन्दा बढी मञ्चबाट हजारौं मानिसहरूसामु ‘सकारात्मक सोच’ को प्रवद्र्धन गरिसकेकी सृष्टि अरूको जीवनमा ऊर्जा भर्न आफ्नो जीवन रूपान्तरणको कथा सुनाउँछिन् ।

मानसिक तनाव र हीनताबोधबाट ग्रसित युवाहरू ‘आँसुको थोपाबाट शक्ति निस्कन्छ’ भन्ने उनको सन्देशबाट उत्साहित हुन्छन् । २७ वर्षको उमेरसम्म आइपुग्दा उनले देखाएको आत्मविश्वास र सफलता धेरैका लागि अनुकरणीय छ ।

“मेरो आँखाको ज्योति फर्काउन शहरका अस्पताल चहार्दै गर्दा आमा खुब रुनुहुन्थ्यो, त्यही आँसुले मलाई नयाँ तरिकाले अघि बढ्ने सामथ्र्य दियो”, उनी भन्छिन् । २०६३ सालमा आँखाको ज्योति गुम्दा सृष्टिले एसएलसीको परीक्षा दिइसकेकी थिइन् ।

त्यसपछिका परीक्षामा उनी कहिल्यै दोस्रो हुनु परेन । कलेजका दुई खुट्किला उक्लिंदा उनी विश्वविद्यालयमै प्रथम भइन् । भन्छिन्, “मैले जीवनलाई आफ्नै रङले सजाउन सिकें, जुन कुरा मेरा लागि लिमिटेशन हुने भनिएको थियो मैले त्यसमै एड्भान्टेज देख्न थालें ।”

आँखाको ज्योति गुमेपछि उनलाई उच्च शिक्षाका लागि कलेज पाउनै मुश्किल भयो । बल्लतल्ल डिल्लीबजार कन्या क्याम्पसमा प्रवेश पाएकी उनी स्नातकपछि केरलको एउटा इन्ष्टिच्यूटमा नेतृत्व विकास सम्बन्धी सात महीने तालीममा सहभागी भइन् । त्यसपछि संसारभरका विद्यार्थीसँग प्रतिस्पर्धा गरेर युरोपेली संघको छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन गर्न युरोप पुगिन् ।

भन्छिन्, “मेरो आत्मविश्वास बढिरहेको थियो, त्यसैले अपांगता भएका व्यक्तिको कोटामा होइन, खुला प्रतिस्पर्धा गरेर युरोप गएँ ।” नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, फ्रान्सको ब्लेइस पास्कल युनिभर्सिटी, हंगेरीको युनिभर्सिटी अफ सेगेड र बेलायतको युनिभर्सिटी अफ रोहाम्पटनबाट संयुक्त रूपमा नृत्यलाई समाजशास्त्र र मानवशास्त्रसँग जोडेर हेर्ने विषय इथ्नो–कोरियोलोजीमा स्नातकोत्तर अध्ययन् गरिन् ।

अपांगता भएका व्यक्तिलाई स्वाभिमानी बन्न आह्वान गरिरहेकी सृष्टिलाई संसारभर नै अपांगता भएका व्यक्तिले पाउने अवसर सीमित बनाइएको अवस्था पटक्कै चित्त बुझेको छैन । भन्छिन्, “आफ्नो परिश्रमको कमाइ खर्च गर्दा प्राप्त हुने आत्मसम्मान अरूको निगाहमा प्राप्त भत्ताबाट पाइँदैन ।”

अपांगता भएका व्यक्तिलाई अवसर दिने, सृजनशील बनाउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने वातावरण निर्माण गर्दै स्वावलम्बी बनाउने सृष्टिको ध्येय हो । नयाँ ठाउँ घुम्न र थरीथरी मानिस भेट्न रुचाउने सृष्टिलाई शपिङ र शृङ्गारमा पनि रुचि छ ।

परिवारबाट अलग्गिएर नर्वेको एउटा गाउँमा सामूहिक बाख्रापालन गरिरहेका अपांगहरूमा दर्बिलो स्वाभिमान अनुभूत गरेकी सृष्टिले जर्मनीमा भने उल्टो देखिन् । भन्छिन्, “जर्मनीमा अपांगता भएका व्यक्तिमध्ये ७० प्रतिशत बेरोजगार छन्, उनीहरूलाई राज्यले पर्याप्त भत्ता दिए पनि नर्वेका पशुपालकमा जस्तो स्वाभिमान उनीहरूमा महसूस हुँदैन ।”

सृष्टि अहिले आफ्नो संस्था ब्लाइण्ड रक्स मार्फत सामाजिक काममा सक्रिय छिन् । १२ वर्षअघि आँखाको ज्योति गुमाएकी सृष्टि अहिले दृष्टिविहीनहरूलाई मात्र होइन, सबैलाई आफूभित्रको ज्योति पहिल्याउन सिकाइरहेकी छिन् ।

पढ्नुहाेस्:

प्रेरणाकी पुञ्ज

अठोट नै शक्ति

विद्रोहले बनेको व्यक्तित्व

‘फ्रन्टलाइन’मा महिला

प्रतिकृया दिनुहोस