संविधान संशोधन विधेयक मन्त्रिपरिषद्बाट पारित
मन्त्रिपरिषद बैठकले संविधान संशोधन विधेयक पारित गरी आजै संसद्मा दर्ताका लागि पठाएको छ ।
आज, १४ मंसीर राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन विधेयक मस्यौदा पारित गरी आजै दर्ताका लागि व्यवस्थापिका संसद सचिवालयमा पठाएको हो ।
मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत छलफल गरेका थिए ।
आजै बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावका पक्षमा संघीय समाजवादी फोरम नेपाल लगायत मधेशी मोर्चामा आवद्ध दलहरुले समेत मतदान गर्ने बताएका थिए ।
सीमाङ्कन, राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता र भाषा लगायतका विषयमा संविधान संशोधनका लागि मन्त्रिपरिषदले संविधान संशोधन विधेयक तयार पारेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संविधान संशोधन तयारीको विरोध गर्दै आएको छ ।