नेविसंघ स्थापना भएकाे ५० वर्ष, देशभर स्वर्ण जयन्ती मनाइँदै
नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ स्थापना भएको आज ५० वर्ष लागेको छ ।
यस अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी स्थापनाको स्वर्ण जयन्ती मनाउन लागिएकाे छ ।
विसं २०२७ वैशाख ६ गते काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।
स्वर्ण जयन्तीको अवसरमा नेविसङ्घ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम आयोजना गरेको छ ।
नेविसङ्घ काठमाडौंले पनि पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेविसङ्घका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन् ।
नेविसङ्घको स्वर्ण जयन्ती केन्द्रीय समिति नभएको अवस्थामा स्वर्ण जयन्ती परेकोले दुःखदका साथ मनाउनुपरेको नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले गुनासो गरे ।
नेविसंघको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसङ्घ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बन्न पुगेको छ ।