समाचारबिहिबार, ५ बैशाख , २०७६

दुई सम्पदा जोड्ने महानगरको गुरुयोजना सार्वजनिक

रासस

काठमाडौं महानगरपालिकाले दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक गरेको छ ।

हनुमानढोका दरबार क्षेत्र

विश्वसम्पदा दिवस २०७६ का अवसरमा पारेर बिहीबार कामपाले उक्त गुरुयोजना सार्वजनिक गरेको हो ।

गुरुयोजनामा हनुमानढोकादेखि स्वयम्भू जोड्ने पदयात्राले हिन्दूशैली र परम्परालाई बु‍झ्न लागि पदयात्राको प्रवर्द्धन गरिएको कामपाले जनाएको छ।

यी दुई सम्पदाबीचको दूरी २ दशमलव २ किलोमिटरको दूरीमा रहे पनि अवलोकन स्थान गुम्बा, मन्दिर, ढुंगेधारा, पाटी प्रशस्तै रहेकाले यस स्थानलाई तय गरिएको हो ।

सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं शहरलाई निरन्तररूपमा सम्पदाको शहरका रूपमा जीवन्त राख्नका लागि गुरुयोजनाले ठूलो सहयोग पुग्ने बताए ।

“स्वयम्भू र हनुमानढोका दरबार क्षेत्र आफैँमा महत्वपूर्ण स्थान हुन् । यहाँ आन्तरिक र बाह्य पर्यटकको आकर्षण स्थल बनाउन पनि आवश्यक छ,” शाक्यले भने ।

स्वयम्भूनाथ

कामपाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार गुरुयोजना कार्यान्वयनबाट स्थानीय नेवारी परम्परा संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै पर्यटन प्रवर्द्धनबाट सामाजिक, आर्थिक विकासका अवसर सिर्जना हुने अपेक्षा महानगरको छ । उक्त पदयात्रामा कामपाका १५, १८, १९, २०, २३ र २४ वडा पर्दछन् ।

गुरुयोजनामा संस्कृति तथा रीतिरिवाजलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त तथा अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कार्यलाई लक्ष्य बनाइएको जानकारी गराइएको छ । गुरुयोजनाले संस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षण गर्नु प्राथमिकरूपमा अघि सारेको छ ।

समितिका संयोजक एवं वडा नं १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले स्वयम्भू र हनुमानढोका बीचमा अवलोकनयोग्य प्रशस्त संरचना रहेको र पैदल हिँडेर पनि सम्पदाको अवलोकन गर्न सकिने भएकाले यी स्थान तय गरिएको जानकारी दिए ।

अवलोकन गरिने सम्पदा

सम्पदा पदयात्रा दूरीभित्र रहेका करीब २० महत्वपूर्ण सम्पदा स्थलको अवलोकन गर्न सकिने छ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासका विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदिजस्ता सम्पदा अवलोकन गर्न सकिने छ ।

कामपाले यस दूरीबीच रहेका सम्पदा पहिचान गर्न विभिन्न संकेत चिह्न राख्ने, स्थानीय घरलाई परम्परागत स्वरूपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मतसम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ ।

दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, प्रवर्द्धन र संग्रह गरिनेछ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ । चार विश्व सम्पदा कामपाभित्र पर्दछ ।

त्यसका लागि कामपाले हनुमानढोका, काष्ठमण्डप, मरु गणेश, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाः हिटी, चस्वांद्वँ, दमाईं टोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर) गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी, धिमे ल्वहं, चारा हिटी, भुइखेल हुँदै स्वयम्भूसम्म पुग्ने पदमार्ग तय गरेको छ ।

यी दुई सम्पदा र यसबीचमा रहेका अन्य जीवनशैली वास्तुस्थितका बारेमा जानकारी दिनका लागि कामपाले बिहीबार ‘मास्टर प्लान अफ हनुमान ढोका दरबार स्क्वायर टु स्वयम्भू वल्र्ड हेरिटेज’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ ।

–शर्मिला पाठक

 

प्रतिकृया दिनुहोस