ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता
सरकारले ट्राफिक प्रहरीका सिपाही तथा हवल्दारलाई ४० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरेको हो ।
बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जानकारी दिएका हुन् ।
भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको हो । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् ।
प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले १० प्रतिशत भत्ता पाउनेछन् ।
धुँलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई भत्ता व्यवस्था गरिएको जनाइएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताका विषयमा गृह मन्त्रालयमा प्रस्ताव लगेका थिए ।
प्रहरी प्रधान कार्यालयबाट सो प्रस्ताव आएपछि गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद् बैठकमा सोही प्रस्ताव लगेका थिए ।