रिपोर्टबिहिबार, ५ बैशाख , २०७६

दृश्यकी भाष्यकार

रविन गिरी

स्वदेश बुझ्न स्नातकलगत्तै अमेरिकाबाट फर्किएकी उनी अहिले तस्वीर मार्फत समाज बुझाउने संस्था बनेकी छन्।

नयनतारा गुरुङ कक्षपति । तस्वीर: सागर क्षेत्री

चार वर्षअघिको कुरा, ललितपुरको कृष्णगल्लीस्थित भाटभटेनी सुपरमार्केटमा किनमेल गरिरहेकी नयनतारा गुरुङ कक्षपति (३७) को जम्काभेट आफ्ना विद्यालयका शिक्षकसँग भयो । वर्षौंपछि आफ्नो विद्यार्थी भेटेर शिक्षक जिज्ञासु बन्दै सोधे, “अहिले कहाँ के गरिरहेकी छ्यौ ?” नयनताराले पनि उत्साहित हुँदै आफ्नो कामबारे विस्तारमा बताउन थालिन् । 

तर, उनी जति बताउँदै जान्थिन्, शिक्षकको चासो उति कम हुँदै गएको पाइन् । “मलाई लागेको थियो, तिमी अहिले विश्व ब्याङ्क, एशियाली विकास ब्याङ्क जस्ता ठूला संस्थामा काम गरिरहेकी छ्यौ, या कुनै राम्रो विश्वविद्यालयमा पढाइरहेकी छ्यौ, तर तिमी त...”, शिक्षकले कुरा टुंग्याउँदै भने, “तिम्रो कामबारे सुनेर निराश भएँ ।”

शिक्षक निराश हुनुको कारण थियो, २०५४ सालको प्रवेशिका परीक्षातर्फ ऐच्छिक अर्थशास्त्र विषयमा नयनताराले १०० मा ८२ अंक ल्याउनु । अर्को कारण उनको परिवारसँग जोडिएको थियो । नयनताराका बुबा श्याम कक्षपति मुलुककै चर्चित चेन रेस्टुरेन्ट बेकरी क्याफे लगायत हस्पिटालिटी व्यापारमा संलग्न थिए भने आमा रानी गुरुङ कक्षपति शुभतारा स्कूलकी संस्थापक निर्देशक । नयनताराले यही स्कूलबाट एसएलसी र ए लेभल पढेकी थिइन् ।

शिक्षकको अपेक्षा विपरीत मात्र होइन, आफन्तको आशा र कतिपय सन्दर्भमा आमाबुबाकै इच्छा विपरीत नयनतारा यस्तो कर्ममा छिन्, जुन समाजको परम्परागत संरचनामा ‘सफल’ हुने बाटो पटक्कै होइन । किनभने उनले गर्दै आएको फोटोग्राफी र क्यूरेटरको काममा न पैसा छ, न त कुनै ‘ग्लामर’ । थप, यो पहिल्यैदेखि महिलाले गरिरहेको काम पनि त होइन ।

नयनतारा फोटो सर्कल, नेपाल पिक्चर लाइब्रेरी र फोटो काठमाडौं की सह–संस्थापक र निर्देशक हुन् । सन् २००७ मा स्थापित फोटो सर्कल फोटोग्राफीको साझ मञ्च हो, जसले खासगरी फोटोग्राफी शिक्षामा काम गर्छ । यस अन्तर्गत संस्थाले तस्वीर प्रदर्शनी, कार्यशाला, तस्वीर सम्बन्धी अनुसन्धान/प्रकाशन, दृश्य कथावाचन र कला मार्फत समाजसँग संवाद गरिरहेको छ ।

पिक्चर लाइब्रेरी नेपाली तस्वीरहरूको डिजिटल अभिलेखालय हो । यो तस्वीर मार्फत इतिहास र सम्झ्ना खोतल्दै वर्तमानलाई झक्झक्याउने प्रयत्न पनि हो । फोटो काठमाडौं चाहिं बंगलादेशको छोबी मेला पछिको यस क्षेत्रकै ठूलो तस्वीर–महोत्सव हो । हरेक दुई वर्षमा हुने महोत्सवमा देश–विदेशका सयौं कलाकार सहभागी हुन्छन् ।

फोटोग्राफीमा रमाइरहेकी उनी आफूलाई एफएम रेडियोले बदलेको बताउँछिन् । भएको के रहेछ भने, नयनतारा सन् २००१ मा उच्च अध्ययनका लागि अमेरिकाको माउन्ट होलिओक कलेज पुगिन् । त्यहाँ उनले इन्टरनेशनल रिलेशन्स विषयमा स्नातक गरिन् । यो विषय अन्तर्गत उनले स्टुडियो आर्ट, सोसल चेञ्ज र फोटोग्राफी पनि पढ्नुपथ्र्यो ।

अध्ययन पूरा भएपछि एक वर्ष आफूले पढेको विषयमा काम गर्न पाइने सुविधा थियो । नेपालमा पनि सञ्चालित इक्वेल एक्सेस संस्थाको सान फ्रान्सिस्कोस्थित मुख्यालयले नेपाली रेडियो कार्यक्रमका लागि प्रस्तावना बनाउन नेपाली भाषा जान्ने एक जना ‘इन्टर्न’ मागेको रहेछ ।

नयनतारा छानिइन् । त्यसपछिको उनको काम नेपालभरिका एफएम रेडियो सुन्ने र त्यसका विषयवस्तु विदेशीलाई बुझाउने भयो । “काठमाडौंमा हुँदा हिट्स एफएम, अलिअलि कान्तिपुर एफएम मात्र सुन्थें, कामको क्रममा रेडियो सुनिरहेपछि देशमा के भइरहेको रहेछ भन्ने बल्ल थाहा पाएँ, अनि त कति खेर नेपाल फर्कूं भयो”, उनी भन्छिन् ।

नयनतारा गुरुङ कक्षपति । तस्वीर: मोनिका देउपाला

माओवादी विद्रोह, राजा ज्ञानेन्द्रको अध्यक्षमण्डलको शासन र त्यस विरुद्ध दलहरूको आन्दोलन । सन् २००६ मा उनी नेपाल आउँदा सबै उत्कर्षमा थिए । नयनतारा क्यामेरा लिएर उपत्यकाका आन्दोलन नियाल्न थालिन् ।

माओवादीका कार्यक्रमहरूमा काठमाडौं बाहिर पनि पुगिन् । त्यस क्रममा उनले नेपालमा फोटोग्राफी र फोटो पत्रकारिता भइरहे पनि एकापसको काम, अनुभव जान्न र त्यसबारे पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गर्न नसकिएको महसूस गरिन् । तस्वीरमा काम गर्नेहरू एउटै छातामा अटाउन नसकेको त्यही बुझाइको उपज थियो, फोटो सर्कल ।

तस्वीर र नयनताराको सम्बन्धले १२ वर्ष पार गरिसकेको छ । यो अवधिमा उनले सम्झना र सञ्चारको एउटा माध्यम तस्वीरको महत्व र पहुँच विस्तार गरेकी छन् । तस्वीर कर्मलाई सामाजिक मुद्दाहरूसँग जोड्दै प्राज्ञिक क्षेत्रमा प्रवेश गराएकी छन् । आज फोटो सर्कल दृश्य कलाका क्षेत्रमा काम गर्ने दक्षिणएशियाकै बलियो संस्था बनेको छ । संस्थाले तस्वीरलाई गम्भीर प्रेम गर्ने अर्को पुस्ता तयार पारिसकेको छ ।

संस्था भन्दा व्यक्ति बन्ने प्रक्रियाबाट गुज्रिरहेको समाजमा युवावयमै नयनताराले कसरी यस्तो सफलता आत्मसात् गर्न सकिन् ? कसरी युवाको प्रेरणा बन्न पुगिन् ? “तस्वीरसँगै म पनि निरन्तर विकसित भइरहेकी छु, पढेर भन्दा पनि परेर सिकिरहेकी छु” नयनतारा भन्छिन्, “निरन्तर लाग्ने हो भने आफ्नै रुचिको नयाँ संरचना बनाउन सकिंदो रहेछ ।”

पढ्नुहाेस्:

विद्रोहले बनेको व्यक्तित्व

समावेशी सुन्दरी

‘फ्रन्टलाइन’मा महिला

प्रतिकृया दिनुहोस