सलाहद्वारा महिलालाई सम्मान गर्न मुस्लिम समुदायलाई आग्रह
इजिप्टका ‘सुपरस्टार’ फुटबलर मोहमद सलाहले आफ्नो देश र बाँकी मुस्लिम विश्वका पुरुषलाई महिलालाई आदरपूर्वक व्यवहार गर्न आग्रह गरेका छन् ।
टाइम म्यागाजिनसँग कुरा गर्दै सलाहले पहिलोपटक सार्वजनिक रुपमा महिला समानता बारे बोलेका हुन् । “हाम्रो संस्कारमा जुन तरिकाले महिलामाथि व्यवहार गरिन्छ, त्यसलाई परिवर्तन गरिनुपर्छ”, २६ वर्षीय लिभरपुल स्टार सलाहले भने, “यो ऐच्छिक कुरा होइन ।”
२८ वर्षपछि सन् २०१८ को फिफा विश्वकपमा इजिप्टलाई छनोट गराउन सफल भएपछि सलाह इजिप्ट र पूरै मध्यपूर्व क्षेत्रका युवाका आदर्श बनेका छन्। उनले आदर्श बन्नु आफ्ना लागि केही दबाब भए पनि यो गर्वको क्षण भएको पनि बताए ।
वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्येका सलाहको जीवनशैली सामान्य छ । फुर्सदका समयमा उनी आफ्नी ६ वर्षीया छोरीसँग घरमै समय बिताउँछन् ।
सलाह यसवर्ष टाइमको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । उनी टाइमको नयाँ अंकको ६ वटा आवरणमध्ये एकमा छानिएका छन् ।