खेलकुदबुधबार, ४ बैशाख , २०७६

‘साम्बा’ को संघर्ष

निरञ्जन राजवंशी

राष्ट्रिय फूटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (२३) घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफू स्थापित मात्र भइनन्, बहिनीहरूकी प्रेरणा समेत बनेकी छिन्।

ब्राजिली नृत्य ‘साम्बा’ जस्तै कपाल रंग्याएर खेल्ने गरेका कारण यही उपनाम पाएकी सावित्राले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट २९ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन् । महत्वपूर्ण चाहिं के छ भने तीन वर्षको छोटो अवधिमै यस्तो ‘धूम’ विरलैले मात्र मच्चाउँछन् ।

लमजुङ, पामचोककी सावित्रा भण्डारी गाउँमा हलो समाउँथिन् । आली लगाउँथिन् । चार दिदीबहिनीमध्ये साहिंली उनको स्वभाव पनि त्यस्तै थियो । छोटो कपाल पाल्ने, कुर्ता सारी नलाउने, न लाज मान्ने न धक, हिम्मतिली । उनको यही स्वभाव खेलकुदसँग जोडिने आधार बन्यो ।

सावित्राले खेलको शुरूआत एथलेटिक्स र भलिबलबाट गरेकी थिइन् । तर उनको रुचि भने फूटबलमा थियो । फूटबल खेल्ने हठ पूरा गर्न उनले धैर्यको लामो परीक्षा पार गर्नुपर्‍यो । “स्कूलमा महिलाको टीम थिएन । खेल्न असाध्यै मनपर्ने । अनि पुरुषसँगै खेल्थें, झगडा गर्थें”, सावित्रा सम्झिन्छिन्न्।

उनी दाइहरू खेलेको पोष्ट पछाडि बसिरहन्थिन्, बाहिर आएको बल प्रहार गर्न पाउँछु कि भन्ने आशामा । कक्षा ८ सम्म मात्र पढाइ हुने गाउँको स्कूलपछि उनले फूटबल खेल्ने चौर भएको अमर उमावि रोजिन् ।

उनलाई याद छ, छिमेकी गाउँ घनपोखरामा महिला फूटबल हुँदैछ भन्ने थाहा पाएपछि रातारात त्यहाँ पुगेको । सृजनशील युवा क्लबबाट खेलेको र पहिलो पटक फूटबल बुट लगाएको । अनि प्रतियोगितामा पाँच गोल गरेको ।

खुलेको ढोका
२०७२ वैशाखमा घले गाउँमा भएको महिला फूटबल प्रतियोगिताले सावित्राको जीवनमा नसोचेको मोड ल्यायो । अन्य महिला खेलाडीभन्दा फरक ‘केटा जस्तै खेल्ने’ छरिती सावित्राको खेलमा रेफ्री बनेर आएकी शुक्रा लामाको आँखा पर्‍यो । लामाले सावित्राको फोन नम्बर मागिन् र सोधिन्, “काठमाडौंमा बोलाए खेल्न आउँछ्यौ ?”

असारमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट उनलाई निम्ता आयो । तर गाउँ छोडेर एपीएफ आउँदा उनले केही प्रश्नको सामना गर्नुपर्‍यो । ‘शहरमा एक्लै नजा, बिग्रेलिस् !’, ‘छोरी मान्छेले एक्लै घर छाड्नुहुन्छ ?’ जस्ता प्रश्न उठेका थिए । तर, सावित्रा मान्नेवाला थिइनन् । “हलो जोत्न दिने । फूटबल खेल्न चाहिं नदिने ? मैले कसैको सुनिनँ”, उनी भन्छिन् ।

मासिक रु.५ हजारको करार जागिरमा सावित्रा एपीएफमा आवद्ध भइन् । महिला फूटबलमा सशक्त मानिने सशस्त्रमा छिरेपछि बल्ल उनको वास्तविक खेलाडी बन्ने यात्राको शुरूआत भयो ।

त्यतिबेला एपीएफमा राष्ट्रिय टोलीका जल्दाबल्दा खेलाडी जमुना गुरुङ र अनु लामा थिए । बाँकीमध्ये पनि अधिकांश राष्ट्रिय टोलीका सदस्य । जमुना घाइते हुनु तथा अनु लामा मिसनको लागि विदेश गएपछि भाग्यमानी सावित्राले चितवनको राष्ट्रिय लिगमा अग्रपंक्तिको जिम्मेवारी पाइन् । लिगमा उनले ८ गोल गरिन् । राष्ट्रिय टोलीमा उनको उदय त्यहींबाट भयो ।

तेस्रो साफ च्याम्पियनसिपका लागि उनलाई राष्ट्रिय टोलीमा बोलाइयो । प्रतियोगितामा भूटान विरुद्धको ‘डेब्यु’ खेलमा नै सावित्राले ८ गोल गरिन् । अहिले ओलम्पिक छनोटको दोस्रो चरणको प्रतियोगिता खेल्दा उनले आफ्नो गोल संख्या २९ पुर्‍याइसकेकी छिन् । राष्ट्रिय जर्सीकी पहिलो रोजाइकी निर्विकल्प खेलाडी बनेकी छिन्, सावित्रा ।

विश्लेषकहरू भन्छन्– २३ वर्षीया सावित्रा फूटबल करिअरको पहिलो चरणमै छिन् । उनले धेरै गर्न बाँकी छ । तर त्योभन्दा आफ्नै प्रतिभा तिखार्न बाँकी छ । एपीएफ क्लबका व्यवस्थापक प्रेम श्रेष्ठ भन्छन्, “बलसँगको उनको गति बेजोड छ । प्रशस्त सम्भावना छ, परिपक्व हुन बाँकी छ ।”

सावित्रामा अनुभवको कमी छ । तर महिला फूटबलका लागि देशव्यापी सन्देश छर्ने काम भने गरिरहेकी छन् । अचम्म, अहिले लमजुङको सावित्राको गाउँमा फूटबल मैदान बनिरहेको छ । गाउँलेहरू उनलाई भन्न थालेका छन्– “गाउँका दिदीबहिनीलाई पनि फूटबल खेल्न लैजाऊ न ।” हिजो प्रश्न तेस्र्याउनेहरू अहिले गाउँ जाँदा स्वागत गर्न आउँछन् ।

सावित्रालाई हेल्थपोष्टमा सामान्य जागिर खाने बुबालाई सघाउनुछ । खर्च जोगाएर बहिनी र भाइलाई पढाउनुछ । त्यसका लागि तलबको पाँच हजार र जितेको पुरस्कार उनी बचाएर राख्छिन् । सँगसँगै आफ्नो सपना पनि पूरा गर्नुछ । माल्दिभ्समा व्यावसायिक लिग खेलिसकेकी उनलाई भारतीय महिला लिग खेल्ने निम्तो आइसकेको छ । “मुख्य उद्देश्य देशलाई पदक दिलाउन निम्ति केही गर्नुछ”, उनी भन्छिन् ।

पढ्नुहाेस्:

‘फ्रन्टलाइन’मा महिला

समावेशी सुन्दरी

प्रतिकृया दिनुहोस