पत्रकार गिरी पक्राउविरुद्ध पोखरामा धर्ना
ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीले आज जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएको हो । अन्य जिल्लामा पनि महासंघले धर्ना र ज्ञापनपत्र बुझाएको छ ।
गिरीलाई पक्राउ गरेको विरोधमा आज पोखराबाट प्रकाशित हुने सबै दैनिक पत्रिकाले सम्पादकीय ‘कोलम’मा कालो पोतेका छन् ।
प्रहरीले गिरीलाई २ वैशाखमा पक्राउ गरेको थियो । गिरीले २२ चैतमा व्यापारिक समूह बतास अर्गानाइजेसनका सञ्चालक बीपेन्द्रराज बतासको ठगीबारे समाचार प्रकाशित गरेका थिए ।
सोही समाचारको विषयलाई लिएर बतासले साइबर अपराध ऐन अन्तर्गत सिआईबीमा उजुरी दिएकोले छानबिनका लागि प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
पत्रकार गिरीले प्रकाशन गरेको समाचारमा ‘बतासले पोखराका व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख र मनोज श्रेष्ठको २ करोड ९८ लाख ठगी गरेको’ उल्लेख छ ।
व्यवसायीद्वले आफू ठगीएको भन्दै प्रहरीमा बतास विरुद्ध उजुरी समेत दिएका छन् ।
उजुरीपछि अनुगमनका क्रममा शुरुमा प्रेस काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले तान्डब न्यूज सूचना विभागमा दर्ता नभएको झुटो विवरण दिएका थिए ।
तर, ताण्डब न्यूज डटकम दर्ता भएको भन्दै काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहोराले सिआईबीलाई पत्र पठाएका छन् ।
पक्राउ परेकै दिन २ बैशाखमा काठमाडौं जिल्ला अदालतले ३ दिने म्याद दिएर गिरीलाई छाडेको थियो । तर, प्रहरीले भने अदालती प्रक्रिया शुरु भएकाले पुरा नभइ रिहा गर्न नमिल्ने बताएको छ ।
युवराज श्रेष्ठ, पोखरा